चितवनको माडी नगरपालिका वडा नम्बर ८ कान्तिपुरमा गन्धर्व समुदायले होमस्टे सञ्चालन गरेको छ । एक सय जना बढी क्षमताको होमस्टे सञ्चालनमा ल्याइएकोमा हाल ६ वटा होमस्टे मात्र पूर्ण रुपमा सञ्चालन भएका छन् । अन्य होमस्टे भने निर्माणधीन रहेका छन् ।
बागमती प्रदेश सरकार र माडी नगरपालिकाको अनुदान सहयोगमा त्यहाँ ४४ वटा घर निर्माण गरिएको छ । घर एकै प्रकृतिका एकै रंगले सजाइएको छ । अयोध्यापुरी मध्यवर्ती उपभोक्ताका समितिका अध्यक्ष शिवजी गायकको पहल र प्रयासमा सो घरहरु निर्माण भएका हुन् । घरहरु सञ्चालकले आफ्नै जमिनमा निर्माण गरेका हुन् ।
बागमती प्रदेशकोतर्फबाट प्रति घरका लागि रु तीन लाख र माडी नगरपालिकाकोतर्फबाट रु एक लाख ५० हजार सहयोग र बाकीँ रु ५ लाख स्वम् घरधनीको लगानीमा गरेर रु ९ लाख ५० हजारमा तयार गरिएको अध्यक्ष गायकले बताउनुभयो । अधिकांश गन्धर्व समुदायको बसोबास रहेकोमाडि ८, कान्तिपुरमा विश्वकर्मा, मगर, ब्राह्मण, क्षेत्री लगायतका जानजातिको सहभागितामा होमस्टे सञ्चालनमा ल्याइएको हो । अध्यक्ष गायकले हालै मात्र होमस्टे सञ्चालन गर्दै आउनुभएको छ ।
करिब १८ वर्ष पत्रकारिता क्षेत्रमा काम गर्नुभएको गायक विसं २०२१ सालमा धादिङबाट बसाइँ सरेर माडीमा बस्न थाल्नुभएको हो । पत्रकारितामा स्नातक र राजनीति शास्त्रमा स्नाकोत्तर गर्नुभएका उहाँको परिवारमा सात जना हुनुहुन्छ । परिवारका सबै सदस्य मिलेर घरमा आउने पाहुनाको स्वागत र सेवामा लागि परेको उहाँले बताउनुभयो । हालै मात्र सञ्चालनमा आएको होमस्टेमा हालसम्म करिब ७० जना बास बस्नका लागि आएको गायकले जानकारी दिनुभयो ।
पर्यटकलाई गुन्द्रुक भट्ट, लोकल कुखुराको मासु, माछा लगायतका स्थानीय परिकार खुवाउने गरिएको छ भने अब त्यहाँको विशेष खाना अनदीको चामलबाट बनाईने लट्टे भात बनाउने गायकले बताउनुभयो । उहाँका अनुसार एक रात बस्नको लागि ६ सय रुपैयाँ, सादा खानालाई १५० रुपैयाँ, लोकल कुखुराको मासुसहितको खानालाई ३५० रुपैयाँ, ब्रोइलर कुखुराको मासुसहितको खानालाई ३ सय रुपैयाँ तथा नास्तालाई एक सय रुपैयाँ लिने गरिएको छ ।
चितवनका विभिन्न क्षेत्रसहित गोरखा, धादिङ, काठमाडौँलगायत देशका विभिन्न ठाउँ र विदेशी पर्यटक पनि आउन थालेको गायकले बताउनुभयो । उहाँले थोरै लगानीमा पनि छोटो समयमा राम्रो आम्दानी भएको बताउनुभयो ।
अहिले देशभरी नै आर्थिक मन्दी छाएको यस्तो अवस्थामा पनि पर्यटक आउनु आफ्नो लागि ठुलो उपलब्धी भएको बताउनुभयो । ५० लाखको लागतमा बागमती प्रदेश सरकारको सहयोगमा गन्धर्व सङ्ग्रहालय तथा सांस्कृतिक भवन समेत बनाइएको छ । सो भवन २५० जना सम्मको क्षमता छ ।
माडी धार्मिक क्षेत्र पनि हो जहाँ वाल्मीकि आश्रम, वैकुण्ठ धाम, वैकुण्ठ ताल, सीता गुफा, गोद्दक, छरछरे, सोमेस्वर कालिका मन्दिर लगायत रहेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रले घेरिएको पर्यटकीय क्षेत्र हो माडी ।