काठमाडौँ- दोलखाको भिमेश्वर मन्दिरकाे शिलामा फेरि पसिना आएको छ। ५ दिन अगाडि शनिबार पनि मन्दिरको शिलामा पसिना आएको थियो।मन्दिरका कोषाध्यक्ष सुरेश श्रेष्ठका अनुसार बुधबार शिलाको पुरै भागमा पसिना आएको छ। बुधबार १२ २५ देखि आएको पसिना ३ बजेर १३ मा रोकिएको हो। त्यो शिलामा पसिना आए मुलुकमा अनिष्ट हुने धार्मिक परम्परा रहेको छ । शनिबार पसिना आएपछि तान्त्रिक विधिबाट पुजा गरिएको थियो। शिलाको दाँया भागमा राष्ट्र प्रमुख वा सरकारमा अनिष्ट हुने बताइन्छ भने बाँया भागमा पसिना आउँदा देशवासीलाई अनिष्ट हुने विश्वास रहेको छ। शिलाको सबै भागबाट पसिना आएमा सिङ्गै मुलुकमा अनिष्ट हुने जनविश्वास रहेको छ। शनिबार सिलाको बाँयापट्टी निरन्तर पसिना आएको थियो। स्थानीय भन्छन, ‘संयोग भन्ने वा सत्यता, मुलुकमा भएका ठूलाठूला घटना, राजनीतिक परिवर्तन आदिका बखतमा पनि भीमेश्वरको शिलामा पसिना आएर पूर्व सङ्केत हुने गरेको छ। ‘
कोअध्यक्ष श्रेष्ठले यो शिलामा पसिना आउँदा कहिले राम्रो भएको त कहिले नराम्रो भएको बताए। उनले भने, ‘१९८४ देखि यसमा निरन्तर आइरहेको छ। यसरी पसिना आउनुलाई सूचकको रुपमा भन्छौँ। जस्तै जानकारी मुलक, अब यसरी पसिना आउँदा राम्रो पनि भएको नराम्रो पनि भएको छ। यसले नराम्रै हुन्छ अशुभै हुन्छ भन्ने छैन।’उनले शनिबार शिलामा पसिना आएको राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएको बताए। यही ११ गते मन्दरिमा क्षमा पूजा गर्न लागिएको छ।
पसिना आउँदा कहिले के भयो?
२०७० सालमा दुई पटक भीमेश्वरको शिलामा पसिना आयाे, वि.स. २०७२ देशमा विनाशकारी महाभूकम्प गयो। २०५७ को माघ १ र १५ गते पसिना आयाे २०५८ जेठ १९ राजा विरेन्द्रको वंशनाश भयो। २०६१ असार ८ र ९ गते पसिना आयाे, त्यस बेला देशमा तत्कालिन विद्रोही नेकपा माओवादी शान्ति प्रक्रियामा आउने, जनआन्दोलन, राजतन्त्रको अन्त्य गणतन्त्रको स्थापना जस्ता ठूला राजनीतिक परिवर्तनहरू भएका थिए।
२०४६ साल सालमा पसिना आउँदा पन्चायती व्यवस्थाको अन्त्य भई बहुदलको स्थापना भएकाे थियाे भने २००७ सालमा आउँदा प्रजातन्त्रको उदय भएकाे थियाे। १९९० त्यो बेला पनि देशमा विनाशकारी महाभूकम्प गएको थियो।
त्यो बाहेक वि.सं १९९७, २०११, २०१७, २०१८, २०२८, २०३६, २०४५ सालमा पनि भीमेश्वरको शिलामा पसिना आएको थियो। पछिल्लो पटक भने २०७८ बैशाख २५ मा भीमेश्वरलाई पसिना आएको थियो।
भीमेश्वरको शिलामा आएको पसिनलाई शुद्ध कपासले पुछ्ने चलन रहेको छ । भीमेश्वरको पसिना पुछेको कपास राष्ट्र प्रमुख र सर्वसाधारणलाई प्रसाद स्वरुप बाँड्ने गरिन्छ। पसिना पुछेको कपासलाई खाममा हालेर राष्ट्र प्रमुखकहाँ पठाएपछि राष्ट्र प्रमुखका तर्फबाट मन्दिरमा क्षमापूजा गर्ने चलन छ। राजतन्त्रका बेला राजपरिवारबाट क्षमापूजा गर्ने चलन रहेकोमा अहिले राष्ट्रपतिका तर्फबाट क्षमापूजा हुँदै आएको छ ।