शिशुलाई दुध चुसाउँदा ‘मोबाइल फोन’ प्रयोग नगर्न बालरोग विशेषज्ञको आग्रह

चितवन – बालरोग विशेषज्ञले शिशुलाई स्तनपान गराउँदा ‘मोबाइल फोन’ प्रयोग नगर्न आमालाई सुझाव दिएका छन् । विश्व स्तनपान सप्ताहको अवसरमा चितवनमा भएको चिकित्सकले मोबाइल चलाउँदा आमा र शिशु दुवैलाई फाइदा नगर्ने बताएका हुन् ।

भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा. श्वेताकुमारी गुप्ताले स्तनपान गराउँदा आमाले मोबाइल प्रयोग गर्न नहुने बताउनुभयो । आमाले मोबाइल चलाएर स्तनपान गराउँदा बच्चाले दूध खायो खाएन, अघायो, अघाएनलगायत केही कुरा पनि जानकारी नहुने र बच्चाको माया ममतामा पनि कम हुने जाने बताउनुभयो । स्तनपान गराउने समयमा शिशुलाई सुमसुमाउनुपर्ने र अन्त ध्यान दिन नहुने उहाँको भनाइ छ ।

शिशुलाई जन्मिएदेखि छ महिनासम्म आमाको दूधबाहेक पानीको आवश्यकता नपर्ने उहाँको भनाइ छ । नियमित स्तनपान गर्ने शिशुमा निमोनिया, झाडापखाला, दम जस्ता रोग लाग्ने सम्भावना कम हुन्छ । उहाँले काममा जानुपरेमा आमाको दूध सङ्कलन गरेर राखेर भए पनि खुवाउन सकिने बताउनुभयो । आमाको दूध सङ्कलन गरेर कोठाको तापक्रममा राखेमा ४ देखि ६ घण्टा र फ्रिजमा राखे २४ घण्टासम्म खुवाउन सकिन्छ ।

कार्यक्रममा भरतपुर अस्पतालकका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख विशेषज्ञ प्रा. डा. सुनिलमणि पोखरेलले शिशुलाई दिनमा ८ देखि १२ पटक दूध खुवाउन सके बच्चाका लागि फलदायी हुने बताउनुभयो । नियमित स्तनपान गराउने आमालाई स्तन र डिम्बासयको क्यान्सर हुने सम्भावना न्यून हुने डाक्टर पोखरेलले बताउनुभयो ।

बच्चा जन्मिएको एक घण्टा भित्रमै आमाको दूध खुवाउन सके सालनाल छुटिनदेखि स्तन गानिने र पिप जम्ने जस्ता समस्याबाट छुटकारा पाउन सकिने उहाँले बताउनुभयो । पछिल्लो समय स्तन ठूलो भयो भन्दै त्यसलाई घटाउने औषधि खोजी गर्ने पनि आफूकहाँ आउने गरेको भन्दै डा. पोखरेलले स्तनपान गराइसकेपछि विभिन्न व्यायाम गरेर मोटोपन र स्तन घटाउन सकिने बताउनुभयो ।

सेयर गर्नुहोस्