सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराकी छोरी सुनिधि राणाले आफूहरूमाथि राज्यले अत्याचार गरेको आरोप लगाएकी छिन् ।
बालुवाटारस्थित प्रधानन्यायाधीशको सरकारी निवासबाहिर पत्रकारसँग कुरा गर्दै सुनिधिले सरकारले अराजकताको पराकाष्टा गरेको आरोप लगाएकी हुन् । घरमा काम गर्नेलाई समेत बाहिर निस्कन नदिएको उनको आरोप छ ।
‘यो त हामी माथि अराजकताको पराकाष्टा भयो । बच्चालाई स्कूल पठाउन र औषधि किन्न जान पनि पाइएको छैन,’ भावुक स्वरमा चोलेन्द्रकी छोरीले भनिन् ।
यसअघि लोकान्तरसँग कुरा गर्दै चोलेन्द्रले आफूलाई घरभित्रै नजरबन्दमा राखिएको बताएका थिए ।
चोलेन्द्रको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली निवासमा पुगेको थियो ।