spot_img
spot_img
spot_img

गठबन्धन: ८० प्रतिशत भन्दा धेरै सिटमा सहमति, कसको कति ?

spot_img

संघीय र प्रदेशसभा निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेका सत्तारुढ दलहरूले सिट बाँडफाँडको विषय लगभग टुङ्गाएका छन् ।

सिट बाँडफाँडको विषय पेचिलो बन्दै गएका बेला निर्वाचनको मिति नजिकिएसँगै सहमतिको अन्तिम विन्दुमा पुगेका हुन् । 

डेढ महिना देखि सिट बाँडफाँडको विषयमा छलफल गर्दै आएका दलहरूले समानुपातिक निर्वाचन पद्धतिको बन्दसूची बुझाएसँगै कसले कति सिट पाउने भन्ने विषयमा नजिक पुगेका छन् ।

असोज २ र ३ गते समानुपातिक निर्वाचन पद्धतिको बन्दसूची बुझाएसँगै सत्तारुढ दलहरू पुन सिट बाँडफाँडको विषयमा केन्द्रित हुन थालेका छन । 

सुरुवाती दिनमा कस्तो मापदण्ड अपनाएर सिट बाँडफाँड गर्ने भन्ने विषयले दलहरूलाई अन्योलता सिर्जना गरेको थियो । तर निर्वाचनमा गठबन्धन गर्ने नै भन्ने निर्णय गरेपछि दलहरूले मूलत तीन कुरालाई प्रमुख आधार मानेर भागबन्डाको मापदण्ड बनाएका छन । 

जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार २०७४ सालमा सम्पन्न भएको संघीय निर्वाचन, हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचन र शीर्ष नेताहरूको निर्वाचन क्षेत्रलाई प्रमुख आधार बनाएर सिट बाँडफाँडको मापदण्ड बनाइएको छ । जस अनुसार सत्तारुढ दलहरु बीच ८० प्रतिशत भन्दा धेरै क्षेत्रमा सहमति जुटेको प्रवक्ता सुमनले दाबी गरेका छन । 

उनले भने— “हामी सहमतिको अन्तिम विन्दुमा पुगेका छौं । अब प्रतिशतमा भन्नु पर्दा हामीले ८० प्रतिशत जति सहमति निकालिसकेका छौं । अब प्रदेश सभाको निर्वाचन क्षेत्रमा हामी प्रवेश नै गरेका छैनौँ । प्रतिनिधिसभाको क्षेत्र केही दिनमा टुङ्ग्याउँछौ र त्यसै आधारमा प्रदेश सभाको पनि  टुंग्याउँछौं । 

कहाँ कहाँ भयो त सहमति ? 

प्रदेश नं १

सत्तागठबन्धन सिट बाँडफाँड कार्यदलका एक सदस्यका अनुसार झापाको क्षेत्र नं १, ३ र ४ कांग्रेसलाई दिने र ५ माओवादीलाई दिने मोटामोटी सहमति भइसकेको छ ।

क्षेत्र नं २ मा भने कांग्रेस र माओवादी केन्द्र दुवैले दाबी गर्दै आएका छन । इलाम क्षेत्र नं १ मा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पक्का भएका छन भने क्षेत्र नं २ कांग्रेसलाई दिने गरी गठबन्धनका दलहरू बीच सहमति जुटेको छ ।

मोरङको १, २, ३ र ६ कांग्रेसले लिने पक्का भएको छ भने ४ र ५ माओवादी केन्द्रलाई दिने सहमति भएको छ । मोरङकै क्षेत्र ५ मा जनता समाजवादीले पनि दाबी गर्दै आएको छ । धनकुटामा कांग्रेस र माओवादी दुवैले दाबी गर्दै आएका छन भने सङ्खुवासभा कांग्रेसलाई दिन गठबन्धनका दलहरू सहमत छन । 

भोजपुर माओवादी केन्द्रलाई छोडेर तेह्रथुम कांग्रेसलाई दिने गठबन्धनको सहमति छ । उदयपुर क्षेत्र नं १ मा कांग्रेसले उम्मेद्वारी दिने सहमति भएको छ भने उदयपुर क्षेत्र नं २ मा माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गर्ने गठबन्धनका दलहरू बीच सहमति जुटेको छ ।

सोलुखुम्बु र खोटाङमा भने कांग्रेस र माओवादी केन्द्र दुवैले आफ्नो अडान कायम राख्दै आएका छन । पाँचथरमा कांग्रेसले उम्मेद्वारी दिने सहमति जुटेको छ । 

मधेश प्रदेश
मधेश प्रदेशको सप्तरी क्षेत्र नं १ मा कांग्रेस र जसपा दुवैको अडान कायमै रहेको छ । क्षेत्र नं २ र ३ मा जसपालाई छोड्ने सहमति भएको छ भने क्षेत्र नं ४ मा कांग्रेसले उम्मेद्वार उठाउँने सहमति भएको छ । सप्तरी क्षेत्र नं २ जसपा अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र हो ।

धनुषा क्षेत्र नं १ मा माओवादी केन्द्र र जसपा दुवैले दाबी गरेकोमा २ र ३ मा भने कांग्रेस र जसपा दुवैले दाबी गर्दै आएका छन । क्षेत्र नं ४ मा भने सबै दलले कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको बताइएको छ । 

रौतहट क्षेत्र नं १ बाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उम्मेद्वार बनाउने सत्तागठबन्धनको तयारी छ । क्षेत्र नं २ मा कांग्रेस, माओवादी केन्द्र र जसपा तीनै दलको दाबी रहेको छ । यस्तै क्षेत्र नं ३ मा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी तीनै दलले दाबी गर्दै आएका छन । रौतहट क्षेत्र नं ४ मा भने कांग्रेसले उम्मेद्वार बनाउने सहमति भइसकेको छ । 

महोत्तरी १ मा माओवादी केन्द्र, २ मा कांग्रेस, ३ र ४ मा जसपाका उम्मेदवार उठाउँने सहमति भएको छ । सिरहा क्षेत्र नं १ मा कांग्रेस र क्षेत्र नं ४ जसपाले पाउँने पक्का जस्तै भएको छ । क्षेत्र नं २ मा कांग्रेस, जसपा र एकीकृत समाजवादीले दाबी गर्दै आएका छन भने क्षेत्र नं ३ मा कांग्रेस, माओवादी र जसपा तीनै दलले दाबी गर्दै आएका छन ।  सर्लाही १ मा जसपा र कांग्रेस, २ मा कांग्रेस, माओवादी र जसपाको दाबी छ भने ३ मा माओवादी र कांग्रेसको अडान कायमै रहेको छ । 

बारा १ र ३ मा कांग्रेस र २ मा जसपाले पाउँने पक्का भएको बालुवाटार स्रोतले दाबी गरेको छ । 

क्षेत्र नं ४ मा भने माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा तीनै दलले आफूले पाउँनु पर्ने अडान कायम राख्दै आएका छन । पर्साको १, २ र ४ मा कांग्रेसले दाबी गरेको छ । पर्साका ४ निर्वाचन क्षेत्र मध्य एक एक सिट आफूँहरुले पाउँनु पर्ने माओवादी केन्द्र र एकीकृत समाजवादीले दाबी गर्दै आएका छन । जसपाले भने पर्सामा आफूहरुको पकड सबै भन्दा  राम्रो भएको भन्दै ४ वटै निर्वाचन क्षेत्रमा आफूहरुका उम्मेद्वार उठाउँनु पर्ने बताउँदै आएको छ । 

- Advertisement -

बागमती प्रदेश

संघीय राजधानी समेत रहेको काठमाडौंमा १, ३, ४, ५, ६ र १० मा कांग्रेसले पाउँने पक्का छ । यस्तै क्षेत्र नं ७  जसपा र क्षेत्र नं ८ एकीकृत समाजवादीले पाउँने पक्का जस्तै भएको छ ।

माधव नेपाल रौतहटबाट निर्वाचन लड्ने भएपछि क्षेत्र नं २ मा कांग्रेस र माओवादी केन्द्र दुबैले दाबी गर्दै आएका छन । यता क्षेत्र नं ९ मा भने कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी तीनै दलले आफ्नो अडान कायम राखदै आएका छन ।

ललितपुर क्षेत्र नं १ मा कांग्रेस र ३ मा माओवादी केन्द्रले सत्तागठबन्धनका साझा उम्मेद्वार उठाउँने सहमति गरेको बालुवाटार स्रोतले दाबी गरेको छ । क्षेत्र नं २ मा भने कांग्रेस र एकीकृत समाजवादी दुवैले आफूले पाउँनु पर्ने अडान कायमै राखेका छन । दुई निर्वाचन क्षेत्र रहेको भक्तपुरमा भने कांग्रेसले नै उम्मेद्वार उठाउँने सहमति भएको छ । 

सबै भन्दा पेचिलो बनेको चितवनमा पनि दलहरू सहमति नजिक पुगेका छन । चितवन क्षेत्र नं २ कांग्रेस र ३ माओवादी केन्द्रले पाउँने पक्का भएको छ । क्षेत्र नं १ मा भने कांग्रेस र एकीकृत समाजवादीले दाबी गर्दै आएका छन  । चितवन क्षेत्र नं ३ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र हो । 

मकवानपुरमा कांग्रेस र एकीकृत समाजवादीले १–१ सिट पाउँने पक्का छ । धादिङ क्षेत्र नं १ मा एकीकृत समाजवादी र २ मा कांग्रेसले उम्मेद्वार उठाउँने सहमति जुटेको छ ।

रसुवामा भने कांग्रेसको तर्फबाट उम्मेद्वारी पर्ने छ । भागबण्डा गर्दा सिन्धुली क्षेत्र नं १ कांग्रेस र २ माओवादी केन्द्रको भागमा परेको छ । दोलखामा कांग्रेस र माओवादी केन्द्र दुवैले दाबी गर्दै आएकोमा रामेछापमा पनि कांग्रेस र माओवादी केन्द्र दुवैले दाबी गर्दै आएका छन । 

सिन्धुपाल्चोक क्षेत्र नं १ मा माओवादी केन्द्र र २ मा कांग्रेसले उम्मेद्वारी दिने सहमति जुटेको छ । काभ्रेमा पनि माओवादी केन्द्र र कांग्रेसले १–१ सिट पाउँने पक्का छ । नुवाकोट क्षेत्र नं १ मा माओवादी केन्द्र र २ मा कांग्रेले पाउँने गरी सहमति गरिएको छ । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापती शेरबहादुर देउवाका विश्वास पात्र डा.प्रकाशशरण महतको नाम समानुपातिकमा सिफारिस गरिएसंगै नुवकोटमा पनि दलहरुबीच सहमति जुटेको हो । 

गण्डकी प्रदेश 

दुई दुई क्षेत्र रहेका स्याङजा र तनुहँमा कांग्रेसले मात्रै उम्मेद्वारी दिने पक्का छ भने  मुस्ताङ, मनाङ, म्याग्दी र पर्वतमा पनि कांग्रेसले नै उम्मेद्वारी दिने छ । लमजुङ माओवादी केन्द्रले पाउने पक्का  छ ।

तीन क्षेत्र रहेका कास्कीमा क्षेत्र नं २ मा एकीकृत समाजवादीले दाबी गरेको छ भने क्षेत्र नं ३ मा माओवादी केन्द्रले दाबी गरेको छ । माओवादी र एकीकृत समाजवादीको दलिय हैसियतनै नभएको भन्दै कास्कीका तीनै क्षेत्रमा कांग्रेसले उम्मेद्वारी दिनुपर्ने जिल्ला नेताहरूको अडान छ । 

बाग्लुङ १ मा राष्ट्रिय जनमोर्चा र २ माओवादी केन्द्रले पाउँने भित्री सहमति भएको छ । तर दुई क्षेत्र मध्य एक क्षेत्र कांग्रेसले पाउँनु पर्नेमा जिल्ला तहका नेताहरूको अडान छ । गोरखाका दुबै क्षेत्रमा माओवादी केन्द्रले दाबी गरेको छ भने एक क्षेत्रमा पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उम्मेद्वारी दिने पक्का छ । कांग्रेसले पनि दुई मध्य एक क्षेत्र आफूले पाउँनु पर्ने अडान राख्दै आएको छ । 

लुम्बिनी प्रदेश
रुपन्देही क्षेत्र नं ३, ४ र ५ कांग्रेसले पाउँने पक्का छ । क्षेत्र नं १ मा कांग्रेस , जसपा र एकीकृत समाजवादीको दाबी छ भने क्षेत्र नं २ मा कांग्रेस र एकीकृत समाजवादीको अडान कायमै रहेको छ ।

नवलपरासी पश्चिमको क्षेत्र २ मा कांग्रेले उम्मेद्वारी दिने पक्का छ भने १ मा कांग्रेस, माओवादी केन्द्र र जसपाले दाबी गर्दै आएका छन । कपिलवस्तु क्षेत्र नं १ मा माओवादी केन्द्र र २ र ३ मा कांग्रेसले उम्मेद्वारी दिने पक्का छ । 

गुल्मी क्षेत्र नं १ मा कांग्रेसले उम्मेद्वारी दिएर २ मा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाक्रीलाई उम्मेद्वारी बनाउँने गठबन्धनको तयारी छ । अर्घाखाँचीमा कांग्रेसले उम्मेद्वारी दिने छ भने प्युठानमा राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलाई उम्मेद्वार बनाउँन सबै सहमत छन ।

पाल्पाको क्षेत्र नं १ कांग्रेसको भागमा परेको छ भने २  एकीकृत समाजवादीको भागमा परेको  छ । दाङ क्षेत्र नं १ मा एकीकृत समाजवादी, २ मा माओवादी केन्द्र र ३ मा कांग्रेसले उम्मेद्वारी दिने छन । बाँके मा १ नं क्षेत्र माओवादी केन्द्र,  २  जसपा र ३ कांग्रेसले पाउँने पक्का छ ।

बर्दियाको १ मा कांग्रेस र २ मा  माओवादीले उम्मेद्वारी दिने तयारी छ । सत्तागठबन्धनमा सहभागी भएका बामदेव गौतमलाई बर्दियाबाटै सहयोग गर्ने अथवा अन्तै भन्नेमा गठबन्धनका दलहरुबीच छलफल जारी रहेको छ । रुकुम पूर्व र रोल्पा माओवादी केन्द्रले नै उम्मेद्वारी दिने छ । 

कर्णाली प्रदेश 

रुकुम पश्चिम, जाजरकोट, हुम्ला र कालीकोटमा माओवादी केन्द्रले उम्मेद्वारी दिने पक्का भएको छ । सल्यान र डोल्पा एकीकृत समाजवादीको भागमा परेको छ ।

दुई क्षेत्र रहेको  सुर्खेतमा कांग्रेसले नै उम्मेद्वारी दिने भएको छ । मुगुमा कांग्रेस र एकीकृत समाजवादीको दाबी छ । जुम्लामा कांग्रेस र माओवादी केन्द्रले दुवैले आफूले पाउँनु पर्ने अडान राख्दै आएका छन । दैलेख क्षेत्र नं १ मा एकीकृत समाजवादी र २ मा कांग्रेसले उम्मेद्वारी दिने गरी छलफल भएको छ । 

सुदुरपश्चिम प्रदेश 

डडेलधुरामा प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले उम्मेद्वारी दिने पक्का छ । कैलाली क्षेत्र नं ५ मा प्रधानमन्त्री पत्नी आरजु देउवाको नाम चर्चामा थियो ।

तर उनको नाम समानुपातिकमा सिफारिस गरिएपछि त्यहाँ माओवादी केन्द्रले दाबी गर्दै आएको छ । कैलालीका सबै क्षेत्रमा कांग्रेसले नै दाबी गर्दै आएकोछ । त्यसबाहेक माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले पनि एक एक सिट आफूहरुले पाउँनु पर्ने दाबी गर्दै आएका छन । 

कञ्चनपुर क्षेत्र नं १ मा माओवादी केन्द्रले उम्मेद्वारी दिने सहमति भएको छ । २ र ३ मा कांग्रेसका उम्मेदवारलाई सहयोग गर्न अरु दल सहमत देखिएका छन ।

बाजुरा र दार्चुला कांग्रेसको भागमा परेको छ भने, बझाङमा कांग्रेस र एकीकृत समाजवादीले दाबी गर्दै आएका छन । दुई क्षेत्र रहेको अछाममा कांग्रेस र एकीकृत समाजवादीले एक एक सिट पाउँने छन । वैतडीमामा कांग्रेसले पाउँने छ भने डोटीमा कांग्रेस र एकीकृत समाजवादीले दाबी गर्दै आएका छन । 

दलहरू सिट बाँडफाँडको सहमति नजिक पुगे पनि नेपाली कांग्रेसका अधिकांश नेता कार्यक्रताले भने कांग्रेसको एकल बहुमत आउँने गरी मात्रै गठबन्धन गर्न बुढानिलकण्ठलाई निरन्तर दबाब दिँदै आएका छन । दलयि हैसियत नभएका ठाउँमा पनि गठबन्धनका नाममा अन्य दललाई भागण्डा गर्दा त्यसले विद्रोह उत्पन्न गर्न सक्ने कांग्रेस नेताहरूको धारणा छ ।
अहिलेको अवस्थामा गठबन्धन अपरिहार्य रहे पनि तल्लो तहका कार्यकर्ताको भावना बुझ्दै गठबन्धनले जित्न सक्ने हिसाबले मात्रै भागबण्डा गर्न उनीहरुले नेतृत्वलाई सुझाव दिएका छन । 

भरतपुर महानगरपालिकाकी पूर्व उपमेयर पार्वती शाह ठकुरीले भनिन, “गठबन्धन अहिलेको आवश्यकता हो । त्यसमा कुनै दुई मत छैन । तर गठबन्धन गर्दा पूर्व मेची देखि पच्छिम महाकालि सम्म गठबन्धनका उम्मेद्वारले जित्ने गरी गर्नु पर्छ । जुन ठाउँमा जुन दलका उम्मेद्वार बलिया छन, त्यहाँ त्यहि दलका उम्मेदवारलाई उठाउँनु पर्छ । ”

सुरु देखिनै १०० सिटको दाबी गर्दै आएको कांग्रेसले अहिले पनि ९० सिटमा दाबी गरेको छ भने माओवादी केन्द्रले आफूले कम्तीमा पनि ५० सिट पाउँनु पर्ने अडान कायमै राखेको छ ।

एकीकृत समाजवादी र जनता समाजवादीले २०/२० सिटको दाबी गर्दै आएका छन भने राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गर्दै आएको छ । सिट बाँडफाँडको विषय पेचिलो बन्दै गएका बेला एमाले अध्यक्ष ओली र कांग्रेस नेता डा.शेखर कोइराला बीच भएको भेटवार्तालाई अर्थपूर्ण ढंगले हेरिएको थियो ।

त्यसमाथी प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष बीच भएको भेटवार्तालाई लिएर गठबन्धन भाँड्न खोजिएको भन्ने विश्लेषण गरिएको थियो । यद्यपी सत्ताधारी दलका नेताहरुले भने कुनै पनि बहानामा गठबन्धन नफुट्ने दाबी गरेका छन ।

जनता समाजवादी पार्टीका प्रवक्ता मनिस सुमनले भने “ पहिला चाहिँ गठबन्धनमा फाटो आउँछ कि जस्तो लागेकै थियो ।  तर अब अवस्था त्यस्तो रहेन । हामी गठबन्धन गरेरै निर्वाचनमा जानेछौं । गठबन्धनमा कुनै तलमाथी हुँदैन । जहाँ सम्म एमाले अध्यक्ष केपी शर्मा ओलीको कुरा हो । उहाँ त सुरु देखिनै यो गठबन्धन फुटोस भन्ने चाहनु भएको छ । तर अब यो सम्भव छैन । ”

सत्तारुढ दलहरुका अनुसार १६५ निर्वाचन क्षेत्रमध्ये ११२ भन्दा धेरै वटा क्षेत्रमा पूर्ण रुपमा सहमत जुटिसकेको छ । हालसम्म कांग्रेले ६८, माओवादी केन्द्रले २६, जनता समाजवादी पार्टीले ९, एकीकृत समाजवादीले ७ र राष्ट्रिय जनमोर्चाले २ सिट पाउँने पक्का भएको छ ।

सत्तागठबन्धनमा सहभागी भएका डा.बाबुराम भट्टराई र बामदेव गौतमलाई पनि अब बस्ने बैठकले व्यवस्थापन गर्ने सत्ताधारी नेताहरूको भनाई छ । दलहरुबीच सिट बाँडफाँडको विषयमा नजिक पुगेको अवस्थामा लोकतान्त्रिक समाजवादी गठबन्धनमा सहमागी हुने विषय अन्त्य हुने भएको छ । 

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img