दसैँमा प्राय घरमा मासुका परिकार खाने गरिन्छ । तर कतिपय अवस्थामा यी परिकारको सेवनले स्वास्थ्यमा गम्भीर सङ्कट पनि निम्त्याउन सक्छ ।
दसैँमा कुनै पनि पशु वा पक्षीको मासु खाँदा सीमित मात्रामा मात्र खानु पर्दछ । रातो मासु (खसी, राँगाको मासु) र बढी बोसो हुने मासु (बँगुर र बँदेलको मासु) सकभर कम खानु पर्दछ । साथै मासुसँगै मादक पदार्थ बढी पिउँदा हृदयाघात, रक्तचाप र युरिक एसिड बढ्ने तथा मिर्गौलामा समस्या थपिने हुन सक्छ त्यसैले यसबारे सचेत रहनु पर्दछ ।
चाडबाडमा मासु खानु अघि सकभर सबैले, नसके औषधि सेवन गरिरहेका मुटु र मधुमेहका रोगीले अनिवार्य आफ्नो स्वास्थ्य परीक्षण गर्नु पर्दछ । अन्य बेलाका तुलनामा दसैँमा मासु र रक्सी बढी सेवनले दसैँ चाड नभएर दशा पनि बन्न सक्छ । यसबारे सचेत हुनु पर्दछ ।
उच्च रक्तचाप र मुटु रोगीले दशैंँमा बढी रातो मासु र मदिरा खानु हुँदैन । यसका साथै दसैँमा शारीरिक अवस्था हेरी मासुका साथै हरियो सागपात र फलफूल खानु पर्दछ । अन्य समयका तुलनामा एकै ठाउँमा लामो समयसम्म बसेर जुवा तास खेल्ने, शारीरिक अभ्यास नगर्ने, त्यसमाथि रातो मासु र मदिरा सेवन गर्दा उच्च रक्तचाप र मुटु रोग बढ्न सक्छ ।