आतंक लामखुट्टेले मात्र होइन, झिँगाले पनि सिर्जना गर्छ । यतिबेला लामखुट्टेबाट आतंकित बनेका नेपाली छ दशकअघि झिँगाबाट आतंकित बनेका थिए ।
घटना २०१५ साल साउन महिनाको हो । उपत्यकावासी हैजाको प्रकोपबाट आतंकित बनेका थिए । तत्कालीन काठमाडौं नगरपालिकाले हैजा फैलिनुका कारण झिँगालाई ठहर्याएको थियो । तत्कालीन स्वास्थ्यमन्त्री रणधीर सुब्बाको सभापतित्वमा २०१५ साल साउन २० गते बसेको हैजा निवारण कमिटीको बैठकले हैजा निवारण गर्न सरकारले उपलब्ध गराएको २५ हजार रुपैयाँमध्ये छ हजार रुपैयाँ उपत्यकाञ्चल कमिस्नर, दुई हजार रुपैयाँ परोपकार संस्था, दुई हजार रुपैयाँ पुलिस गोश्वाराका एसपी र एक हजार रुपैयाँ कमिटीका सेक्रेटरीलाई खर्च गर्न दिने निर्णय गर्यो । स्वास्थ्य निर्देशक रघुवर वैद्य हुनुहुन्थ्यो ।
कमिटीको त्यो बैठकले ‘हालको हैजा मुख्यतः झिँगाद्वारा फैलिएको हुँदा प्रत्येक खाना बेच्ने पसलमा जाली राख्न लगाउने र नराखे वा राखी झिँगा भन्केको देखिएमा पनि पुलिसद्वारा उक्त खानेकुरा फालिदिने तथा पसलेलाई सजाय गर्ने’ निर्णय गरेको थियो ।
कमिटीले झिँगा मारी सहयोग गर्ने व्यक्तिलाई पुरस्कार प्रदान गर्ने निर्णय पनि गर्यो । एक माना मारिएको झिँगा उपत्यकाभित्रका नगरपालिकामा बुझाएमा साढे दुई रुपैयाँ पुरस्कार दिने र पुरस्कार एक महिनासम्म उपलब्ध गराइने निर्णय गरियो ।