spot_img
spot_img
spot_img

कर्णाली राजमार्ग अवरुद्ध, महँगो हवाई भाडा तिर्न सर्वसाधारण बाध्य

spot_img

गत हप्ताको अविरल वर्षाका कारण कर्णाली राजमार्ग एक सातादेखि पूर्ण रुपमा अवरुद्ध छ । सडक अवरुद्ध भएपछि एक मात्र विकल्पका रुपमा रहेको हवाई सेवामा पहुँच नहुँदा सर्वसाधारणलाई सास्ती भएको छ ।

कर्णाली राजमार्ग पहिरोले अवरुद्ध भएपछि त्यहाँका नागरिक महँगो भाडा तिरेर हवाई यात्रा गर्न बाध्य छन् । १३ हजारदेखि माथि प्रतिव्यक्ति भाडा लिने गरिएको छ ।

तर, विमानस्थलमा यात्रुको चाप भएपछि सर्वसाधारणलाई टिकट पाउन मुस्किल भएको छ । टिकटमा मनोमानी छ । पहुँचवालाले सहजै टिकट पाएका छन् ।

जुम्लाका तपेन्द्र भट्टराई भन्छन्,“विमानस्थलमा सर्वसाधारणले सहजै टिकट पाउने अवस्था छैन । पहुँचको भरमा टिकट वितरण हुन्छ । गाडीबाट यात्रा गर्ने सम्भावना पनि छैन, आफ्नो पढाइ र कर्मथलोको लागि सुर्खेत, नेपालगञ्ज लगायत ठाउँमा जान विमानस्थलमा यात्रुको खचाखच छ ।” महँगो भाडा तिरेर पनि सर्वसाधारणले हवाई सेवा प्रयोग गर्न पाएका छैनन् ।

कर्णालीमा राज्य निरीह भएको र नीजि एयरलाइन्सको मनपरी बढेपछि जुम्लावासीले सास्ती पाएको स्थानीय माधव चौलागाई बताउँछन् । मुलुकमा सङ्घीयता आए पनि हवाई टिकटका लागि मारामार गर्नुपर्ने, नेताको पावर लगाउनुपर्ने विडम्बना कर्णालीमा रहेको उनको भनाई छ । जुम्लासँगै मुगु, हुम्ला र डोल्पाका नागरिकले पनि हवाई टिकट सहजै पाउन सकेका छैनन् ।

जुम्लास्थित नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख सन्तोष अधिकारीले जहाजको कमीले समस्या भएको बताए । जुम्लादेखि नेपालगन्ज दैनिक दुईदेखि तीन वटा उडान हुँदै आएको छ । जुम्लामा तारा, गोमा, सीता एयरले उडान भर्दै आएका छन् ।

कर्णालीका अन्य जिल्लामा उडान पछिल्लो केही समय सुर्खेतबाट शून्य रहेको छ । नीजि विमान सबै पूर्वतिर गएका छन् । सुर्खेत जुम्ला हुम्ला, मुगु उडान शून्य छ । हाल पर्याप्त विमान नहुँदा कर्णालीमा समस्या भएको नागरिक उड्डयन प्राधिकरण सुर्खेतका निमित्त प्रमुख प्रतिष्ठा आचार्यले जानकारी दिए।

सडक अवरुद्ध र हवाई सेवामा सास्ती हुँदा दसैँ मनाउन घरमा पुगेका कर्णाली प्रदेशका जुम्ला, मुगु, हुम्ला र डोल्पाका विद्यार्थी, कर्मचारी र सर्वसाधारणलाई आफ्नो पढाई र गन्तव्य फर्किन मुस्किल भएको छ ।

कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालिकोट सडकखण्डको पहिरो हटाउने प्रयास जारी रहेको सडक डिभिजन जुम्लाले जनाएको छ ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img