नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गतेको निर्वाचनपछि बन्ने एमाले नेतृत्वको सरकारले जनकपुरको रेलभन्दा तीव्र गतिमा विकासको काम शुरु गर्ने बताएका छन् ।
एमालेको जनवर्गीय सङ्गठन लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको आयोजनामा ‘आदिवासी जनजातिसँग केपी शर्मा ओली’ नामक बृहत् अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले शुक्रबार सो कुरा बताएका हुन् । राष्ट्रियसभा गृह काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले थपे, “सम्पूर्ण आदिवासी जनजातिको उत्थान र संस्कृतिको उत्थान नै एमालेको प्रमुख नीति हो ।”
नेपाल र नेपालीलाई यहाँको जाति प्यारो छ, यहाँको संस्कार र संस्कृति प्यारो रहेको उनले प्रष्ट पारे। “एमाले आदिवासी जनजातिको पार्टी हो, त्यसैले आदिवासी जनजातिको पक्षमा काम गर्छ” उनले भने। एमाले मगर, थारु, गुरुङ, राजवंशी, राई, लिम्बू लगायतका आदिवासी र मधेसी, पछाडि परेका समुदायको रोजाइको पार्टी भएको उनले बताए ।
“अहिले जुन ठाउँमा रहे पनि पछि जाने ठाउँ सबैको एमाले नै हो, बैंसभरि एमालेलाई गाली गरे पनि ७० वर्षपछि त भत्ता खान एमाले नै चाहिन्छ” अध्यक्ष ओलीले थपे, “हामीले मान्छे अल्मल्याएर हिंडेका छैनौं, जनतालाई सचेत र सङ्गठित बनाएर अघि बढाउने काममा छौं, विकास र समृद्धिको बाटोमा छौं ।”
एमालेले सबै जातजाति समुदाय र सबै क्षेत्र, भेग र वर्गको विकासमा ध्यान दिएको अध्यक्ष ओलीले दावी गरे। “हामी सबै नेपाली एकजुट भएर हाम्रो देश बनाउनुपर्छ, विकसित र समुन्नत नेपाल बनाउनुपर्छ, यो सम्भव छ” उनले थपे, “हामीले रेल ल्याउने भनेका थियौं, ल्यायौं । अहिले रेल चलिरहेको छ, अब आउने हाम्रो नेतृत्वको सरकारले रेल थप्छ ।”
एमालेको सरकार आएपछि मुलुकमा विकास शुरुभएको दावी गर्दै अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले नै सडक, पुलपुलेसा, कालोपत्र सडक, रेल, तुइन विस्थापन, हवाई मैदानको विकास गरेको उनले बताए। सबैले समान अधिकार पाउनुपर्छ, कसैले कम र कसैले बढी अधिकार पाउने वातावरण हुनुहुन्न अध्यक्ष ओलीले सबै नेपालीलाई समान भौतिक सुरक्षा, समान सांस्कृतिक सुरक्षा आवश्यक रहेको बताए ।
अध्यक्ष ओलीले भने, “सबभन्दा पछाडि परेका तराईका दलित, डोम, चमार, जनजाति कोही पनि छुट्दैछ, एक जना पनि छोडिनुहुन्न । बहुसङ्ख्यकलाई हेरेपछि उत्थान गरेपछि पुग्छ भन्ने होइन । एक जना पनि भोकै छ भने त्यो अवस्थाका जनतालाई धनी बनाउँछौं भनेर हामी लागेका छौं ।”
विविधता द्वेष र झगडाको विषय नभएको र यो सहअस्तित्व,परस्पर मेलमिलापको विषय भएको उनले भने। सबै एकजुट भएर आधुनिक नेपाल, विकसित र समृद्व नेपाल बनाउनुपर्नेमा उनले जोड दिए ।
मङ्सिर ४ गतेपछि देश विकासको गति चौतर्फी अघि बढ्ने उनले विश्वास दिलाए । आगामी निर्वाचन महाअदालतमा महाफैसला हुने भन्नुहुँदै उहाँले सही फैसला गर्न पनि मतदातालाई आग्रह गरे । अध्यक्ष ओलीले तिहार, नेपाल संवत्, छठसमेतको अवसरमा आदिवासी जनजाति समुदाय तथा सबै नेपाली दाजुभाइ दिदीबहिनीमा शुभकामना व्यक्त गरे ।