आसन्न निर्वाचनका लागि १४१ अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ ।
मंसिर ४ मा हुने निर्वाचनका लागि निर्वाचन आयोगले देशभर १४१ वटा अस्थायी मतदान केन्द्र निर्धारण गरेको छ । अस्थायी मतदान केन्द्रमा मतदाताले प्रतिनिधिसभाको समानुपातिकमा मात्रै मतदान गर्न पाउनेछन् ।
अस्थायी मतदान केन्द्रका मतदाता सूचीमा १ लाख ४८ हजार अस्थायी मतदाता सूचीकृत भएका छन् । संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, तीनै तहको सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी, ब्यारेकमा रहेका सुरक्षाकर्मी, कारागारमा रहेका थुनुवा, कैदी र वृद्धाश्रममा रहेकालाई लक्षित गरेर अस्थायी मतदान स्थल राख्न लागिएको आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जानकारी दिए ।
देशभर २५ हजार ९६ कैदी र बन्दी भए पनि मतदाता सूचीमा सूचीकृत नभएकै कारण मतदाता न्यून छन् । केन्द्रीय कारागार सुन्धारामा ३ हजार ४०० कैदी रहेकामा मतदाता २० जना मात्रै छन् । त्यस्तै पर्सामा १ हजार ४ सय कैदीमध्ये ३७, डिल्लीबजारमा ६ सयमध्ये कर्मचारीसहित १२३ जना मात्रै मतदाता छन् । त्यस्तै नख्खुमा १ हजार ४ सय कैदीबन्दीमध्ये मतदाता ५० जना मात्रै छन् ।