spot_img
spot_img
spot_img

कांग्रेस उपसभापति खड्कालाई पुनरागमन गर्न कति सम्भव छ ?

spot_img

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का पुनरागमनको दौडमा रहेका छन् । प्रतिनिधिसभाका लागि सुर्खेतको क्षेत्र नं. १ बाट उम्मेदवार रहेका खड्का २०७४ सालको निर्वाचनमा तत्कालीन एमाले र माओवादीको गठबन्धनसँग पराजित भएका थिए । त्यसबेला खड्कालाई पराजित गर्ने ध्रुवकुमार शाही अहिले पनि प्रतिस्पर्धामा रहेका छन् ।

सत्ता गठबन्धनको साथ पाएर सुर्खेतको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका खड्कालाई पुनरागमन हुनु पर्ने चुनौति छ । खड्कालाई नेपाली कांग्रेसभित्रको योजनाकारका रुपमा समेत रहेको चित्रण गरिन्छ ।

नेकपा माओवादी केन्द्र र समाजवादीको साथ पाएपछि जित सुनिश्चित भएको भनिए पनि सुर्खेतमा खड्कालाई पार्टी भित्रको अन्तरसङ्घर्षको असर रहने गरेको छ ।नेपाली कांग्रेसका प्रदेश नेताका अनुसार अहिले खड्का आन्तरिक द्वन्द्वबाट पनि मुक्त छन् । गठबन्धनबाट सिट बाँडफाँड गर्ने बेलामा सुर्खेतका दुई वटै निर्वाचन क्षेत्रमा कांग्रेसलाई टिकट दिलाउने विषयमा खड्काको ठूलो हात छ । उनले क्षेत्र नं. १ मा आफ्नो जित सुनिश्चितताका लागि क्षेत्र नं. २ मा हृदयराम थानीका लागि सिट सुरक्षित गर्न केन्द्रमा महत्वपूर्ण भूमिका खेलेको कांग्रेसभित्र चर्चा भएको विषय हो ।

‘अहिले चुनावी प्रचारप्रसारमा पनि खड्काको शैली फरक भएको छ’ निर्वाचन क्षेत्र नं. १ का मतदाता भुपेन्द्र सारु मगर भन्छन्, ‘७४ सालको निर्वाचनमा उहाँ (पूर्णबहादुर खड्का) घर दैलोमा आउँदा जनतासँग धेरै सम्पर्कमा रहनु भएको थिएन । अहिले त आउने समस्याको बारेमा सोध्ने । पुरा गर्ने आश्वासन दिने काम गरिरहनु भएको छ।’

सुर्खेतको क्षेत्र नं. १ का लागि खड्का आवश्यक नेता भएको भूपेन्द्रको भनाइ छ । उनले भने, ‘कांग्रेसको उपसभापति भएको र राष्ट्रिय राजनीतिको मियो नै खड्काको हातमा भएकाले क्षेत्र नं. १ का लागि आवश्यक व्यक्तित्व हुनुहुन्छ ।’

संसदीय निर्वाचन क्षेत्र नं. १ मा वीरेन्द्रनगर नगरपालिकाको वडा नं. १५ र १६ का साथै गुर्भाकोट नगरपालिका, भेरीगङ्गा नगरपालिका, सिम्ता गाउँपालिका, चिङ्गाड गाउँपालिका र लेकबेसी नगरपालिकालाई समावेश गरिएको छ । तत्कालीन अवस्थामा नेकपा एमालेलाई माओवादी केन्द्रले साथ दिएको थियो भने अहिले माओवादी केन्द्रले खड्कालाई साथ दिएको छ ।

खड्कालाई ०७४ को चुनावमा वाम गठबन्धनको समर्थन पाएका एमालेका उम्मेदवार शाहीले करिब ३ हजार मतान्तरले पराजित गरेका थिए । पहिलो पटक संसदीय निर्वाचनमा होमिएका शाहीले ३६ हजार ७ सय ५९ मत ल्याएर विजयी हुँदा खड्काले ३३ हजार ३ सय ७७ मत प्राप्त गरेका थिए ।

गत स्थानीय तह निर्वाचनमा कांग्रेसले २ र एमालेले ३ पालिका जितेका छन् । सोही क्षेत्रमा पर्ने वीरेन्द्रनगरका दुईवटा वडामा एमाले र कांग्रेसले एक/एक वडा जितेका छन् ।

स्थानीय तहको चुनावमा वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतको आधारमा हेर्दा पनि सत्तारूढ गठबन्धन अगाडि छ । स्थानीय निर्वाचनमा वडाध्यक्ष उम्मेदवारहरूले पाएको मतका आधारमा यो क्षेत्रमा कांग्रेस र एमालेबीच २ हजार हाराहारीको मत अन्तर देखिन्छ ।

तर सत्ता गठबन्धन दलको मत जोड्दा ४० हजार बढी मत हुन्छ । कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले ३५ हजार ८ सय ५६ मत पाउँदा एमालेले ३३ हजार ९ सय ५ मत पाएको छ । माओवादीका उम्मेदवारहरूले ५ हजार ५ मत पाएका छन् ।

कांग्रेस सुर्खेतका सभापति खड्ग पोखरेलले भने, ‘अहिले गठबन्धन पनि छ, पार्टीभित्रको समस्या पनि सुल्झिएकाले पनि उपसभापतिज्यूले जित्ने सम्भावना बलियो छ ।’

केन्द्रको राजनीतिमा समेत खड्काले आफ्नो अलग खालको प्रभाव बनाएका छन् । कांग्रेसका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवा भए पनि पार्टी र सरकार दुबै खड्काले चलाएको टिप्पणी गर्ने गर्छन । खड्काले जितेको अवस्थामा सुर्खेतको क्षेत्र नं. १ मात्र नभएर समग्र कर्णाली प्रदेशको विकासमा सहयोग हुने कांग्रेस जिल्ला सभापति पोखरेल बताउँछन् ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img