पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले ५ वर्ष प्रधानमन्त्री भएर काम गर्न पाएँ मुलुकलाई नयाँ मोडमा पुर्याउने बताएका छन् ।
इलाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक-वाम गठबन्धनका उम्मेदवार खनालले मङ्गलबार पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएको हो ।
‘मसँग अनुभव छ, देश बनाउने योजना छ। त्यसैले जुनसुकै पदमा रहेर काम गर्न सक्छु, अझ पाँच वर्ष प्रधानमन्त्री भएर काम गर्न पाएँ भने मुलुकलाई नयाँ मोडमा पुर्याउँछु,’ उनले भने।
उनले अगाडी भने, ‘राष्ट्रपति, प्रधानमन्त्री वा अन्य कुनै पदमा किन नहोस् म जिम्मेवारी लिन तयार छु, तर बाहिर चर्चा भएजस्तो निर्वाचनपछि मलाई नै राष्ट्रपति बनाउने भनेर गठबन्धनभित्र सहमति भने भएको छैन।’ उनले निर्वाचनपछि एउटैमात्र दलको सरकार नबन्ने बताए।
एउटै दलको सरकार नबन्ने तर गठबन्धनको बहुमत आउने भएकाले आफू जुन पदमा रहेर काम गर्न पनि तयार भएको बताए । आफू ७३ वर्ष पुगे पनि देश विकासका लागि ५ वर्ष कार्यकारी प्रमुख भएर काम गर्न तयार रहेको उनले बताए।
इलाम क्षेत्र नम्बर १ मा सोचेजस्तो विकास हुन बाँकी रहेको खनालको भनाइ छ।