आजकाल सामान्य बोलीचालीमा पनि धेरै मानिसहरू ‘टेन्सन’ छ, ‘स्ट्रेस’ भयो भन्छन् । अर्थात् आजकल धेरै मानिस सामान्य चिन्तालाई गम्भीर मान्न थालेका छन् । हुन त तनाव हुनु भनेको चुनौती थपिनु हो र यसलाई समाधान गर्न मानिसले चासो दिन्छ । एक हिसाबले यो राम्रो भए पनि अर्को दृष्टिले चिन्ताले शरीरदेखि मानसिक अवस्थामा समेत असर गर्दछ । चिन्ताले शरीरमा गर्ने असरहरू निम्न छन् :ः
– मोटोपना बढ्छ
झट्ट सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ, तर चिन्ताले मोटोपन बढ्दछ । जति खाए पनि शरीर दुब्लाउने वा अनावश्यक रूपमा मोटोपना बढ्नुमा चिन्ता पनि एक कारण हुनसक्छ ।
– मुटु कमजोर हुने
लामो समयसम्म चिन्ता लिने मानिसको मुटुका मांसपेशी कमजोर भई धड्कन बढ्न जान्छ । जसका कारण नसा खुम्चिने तथा रक्तसञ्चारमा बाधा उत्पन्न हुन सक्छ । यसले हृदयाघातको जोखिम बढाउँछ ।
– बुढ्यौलीपना आउने
चिन्ता लिने मानिसहरूको शरीरमा मांसपेशी कमजोर हुने, नयाँ कोषको विकास ढिलो हुने, छाला चाउरी पर्ने लगायतका समस्या देखिन्छ । यी समस्याले मानिसमा चाडै बुढ्यौलीपना ल्याउने गर्दछ ।
– स्मरण शक्तिमा कमी
धेरै समयमा चिन्तामा रहने मानिसको स्मरण शक्ति पनि घट्दै जान्छ ।
– रोगसँग लड्ने क्षमतामा ह्रास
चिन्ता लिने मानिसको शरीरमा रोग प्रतिरोधी क्षमता ह्रास भई कम हुन्छ । जसले रोगसँग लड्ने क्षमतामा कमी आउँछ र मानिस सामान्य रोगमा पनि गम्भीर बन्न सक्छ ।