नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र स्वतन्त्र उम्मेदवार प्रभु साहले एक अर्कालाई समर्थन गरेका छन् ।
रौतहट–१ बाट प्रतिनिधि सभा सदस्यका लागि सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपालले रौतहट–३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साहलाई समर्थन गरेका छन् । सत्ता गठबन्धनकै माओवादी केन्द्रले साहलाई आधिकारिक उम्मेदवार बनाएपछि नेपालले पनि साहलाई समर्थन गरेका हुन् ।
यस्तै साहले पनि नेपाललाई समर्थन गरेका छन् । गठबन्धनले आफूलाई समर्थन गरेकाले प्रतिनिधि सभा उम्मेदवार नेपाललाई आफ्नो समर्थन रहेको साहले बताए ।
रौतहट–१ का सत्ता गठनबन्धनबाट उम्मेदवार नेपालको मुख्य प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार अजय गुप्ता छन् ।
यसैगरी रौतहट–३ बाट स्वतन्त्र उम्मेदवार साहको मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसबाट स्वतन्त्र उम्मेदवार ओमप्रकाश साह छन् । सत्ता गठबन्धनले स्वतन्त्र उम्मेदवार साहलाई आधिकारिक उम्मेदवार घोषणा गरिसकेको भए पनि रौतहट–३ का नेता तथा कार्यकर्ताहरू भने अर्का स्वतन्त्र उम्मेदवार साहको पक्षमा खुलेर लागेका थिए ।
नेपालले साहलाई गठबन्धनकै उम्मेदवारको रूपमा चिनाउँदै समर्थन गरेपछि कांग्रेस र नेकपा (एकीकृत समाजवादी)का कार्यकर्तामाथि नैतिक दबाबसमेत परेको छ ।