मंसिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम नजिता आएसँगै नयाँ सरकार बनाउन केन्द्रदेखि प्रदेशमा नेताकार्यकर्ताको दौडधुप बढेको छ । खासगरी प्रमुख दलले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने गरी दौधधुप बढाएका हुन् ।
आफ्नो नेतृत्वमा सरकार बनाउने नेता कार्यकर्ता र सांसदहरु भेटघाट, छलफल र वार्तामा छन् । कुल ६० सदस्यी गण्डकी प्रदेश सभामा पनि सरकार बनाउन नेताहरुको सक्रियता बढेको छ । पार्टीले समानुपातिक तर्फ भएको सिट संख्याका आधारमा सांसद छनोट गरेर निर्वाचन आयोगमा पठाए पनि टुंगो लाग्न बाँकी छ । तर, गण्डकी प्रदेशमा २७ सिटसहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ ।
सोही धारा अनुसार सरकार गठन गर्न त्यसअघि पार्टीको संसदीय दलको नेता बन्ने कसरत पार्टीहरु भित्र देखिएको छ ।
अंकगणित
६० सदस्यीय गण्डकी प्रदशेसभामा ५ दलको प्रतिनिधित्व भएको छ । नेपाली कांग्रेस २७ सिटसहित पहिलो दल, एमाले २२ सिटसहित दोस्रो दल, माओवाद ८ सिटसहित तेस्रो र निर्णायक दल बनेको हो । यस्तो पहिलो पटक प्रदेशसभामा इन्ट्री गदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) २ सिट सहित चौथो शक्ति बनेको हो र एकीकृत समाजवादी १ सिट सहित पाँचौं शक्ति बनेको छ ।
कांग्रेस—माओवादी र एस —परिदृश्य १
दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बन्न सक्ने सरकारको सम्भावनाको पहिलो परिदृश्य कांग्रेस र माओवादी गठबन्धनको देखिन्छ । संघमा पनि सत्ता साझेदारी गरिरहेका दलहरुले मिलीजुली सरकार चलाउने सहमति गरिसकेका छन् । कांग्रेसका २७ र माओवादीका ८ गरी ३५ सांसद हुँदा यो गठबन्धनलाई आरामदायी बहुमत पुग्छ । एकजनालाई सभामुख बनाउँदा पनि ३४ जना हुन्छन् र संसदमा विधेयकहरु पारित गर्न आवश्यक बहुमतका लागि अप्ठेरो पर्दैन । त्यसमाथि मनाङबाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ माधव नेपाल नेतृत्वको नेकपा एसमा प्रवेश गरिसकेका छन्, जुन पार्टी सत्ता गठबन्धनको बलियो साझेदार हो । त्यस हिसाबले संघमा रहेको अहिलेको गठबन्धन गण्डकीमा पनि हुँदा सत्ता पक्षमा ३६ सांसद पुग्छन् । यसमा राप्रपा थपिए ३८ पुग्नेछन् ।
एमाले—माओवादीमा साना दल— परिदृश्य २
सरकार गठनको अर्काे विकल्प भनेको एमाले र माओवादीसहितको वाम गठबन्धन हो । संघीय सरकार गठनका लागि पनि त्यस्तो विकल्पको खोजी ती दुवै पार्टीका कतिपय नेता र सांसदहरुले गरिरहेका छन् । त्यसमा नेकपा एस र अरु साना पार्टीहरुलाई सामेल गरी बहुमत पु¥याउने बहस छ । गण्डकीमा भने एमाले, माओवादी र एस मिल्दा बहुमत टुपुक्कमात्रै पुग्छ । एकजनालाई सभामुख बनाउँदा सत्ता पक्षीय सांसद ३० हुन्छन् । किनभने गण्डकीमा अहिले एमालेसँग २२, माओवादीसँग ८ र एससँग १ सिट छ । त्यो भनेको ६० सदस्यीय गण्डकी प्रदेश सभाको टुपुक्क बहुमत अर्थात ३१ हो । सुविधाजनक बहुमतका लागि उनीहरुलाई राप्रपाको साथ चाहिन्छ । राप्रपासँग २ सिट छ । निर्वाचनमा एमालेले कतिपय निर्वाचन क्षेत्रमा राप्रपासँग तालमेलसमेत गरेको थियो । एमाले सरकारमा गएर नेतृत्व गर्दा मुख्यमन्त्री हुने खगराज अधिकारी नै देखिन्छन् ।
कांग्रेस—एमाले मिलुजुली सरकार —परिदृश्य ३
संघीय सरकारका लागि पनि प्रमुख दलहरु कांग्रेस र एमाले मिलेर स्थिरता दिनुपर्ने बहस पनि उठेको छ । सरकार गठनका लागि त्यो पनि अर्काे सम्भावना हो । राजनीतिमा जे पनि सम्भावना हुन्छ भन्ने मान्ने हो र संघमा पनि त्यस्तो भयो भने प्रदेशतिर पनि प्रमुख दुई शक्ति सरकारमा हुने सम्भावना नकार्न सकिन्न । त्यस्तो हुँदा कांग्रेसका २७ र एमालेका २२ गरी ४९ सांसदको सत्ता गठबन्धन निकै बलियो हुनसक्छ । कांग्रेस, माओवादी र एस मिलेर सरकार गठन गर्ने, एमाले, माओवादी केन्द्र, एस र राप्रपा मिल्ने वा कांग्रेस र एमालेको गठबन्धन बन्ने ३ प्रमुख सम्भावित परिदृश्यमध्ये कुनैचाहिँ साकार हुन्छ भन्ने थाहा पाउन भने केही समय कुर्नैपर्छ ।
कांग्रेसमा सदस्यीय दलको नेता बन्न ४ जना जनाले आकांक्षी देखाएका छन् । जसमा गोरखाका सुरेन्द्रराज पाण्डे, कास्कीका बिन्दुकुमार थापा, स्याङ्जाका भोजराज अर्याल र नवलपुरका महेन्द्रध्वज जिसी कांग्रेस संसदीय दलको नेताको आकांक्षी छन् । कांग्रेस सांसद पाण्डे आफू मुख्यमन्त्री बन्ने भनेर पार्टी सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीचसमेत समझदारी भएको बताउँछन् ।
अहिलेको सरकार कांग्रेस नेतृत्वमा बन्दा माओवादी पनि गठबन्धनमा हुनुपर्ने माओवादी नेताहरुको चाहन छ । यसो भए माओवादीबाट हरिबहादुर चुमन संसदीय दलको नेता हुने पक्का छ । यस्तै, एमालेको नेतृत्वमा सरकार गठन भए पूर्व गृहमन्त्री खगराज अधिकारी निर्विकल्प दलको नेता चुनिने एमाले संसदहरु बताउँछन् ।