नेकपा एमालेका सचिव एवम् सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्ट र नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं सुदूरपश्चिम इन्चार्ज खगराज भट्टबीच बुधबार औपचारिक भेटघाट भयो । कुनै समय लेखराज र खगराज दुवै एउटै पार्टी माओवादीमै थिए ।
लेखराज एमाले प्रवेश गरेपछि दुवै नेतावीच सम्बन्ध चिसिएको थियो । एकाध बिहे पार्टी र अन्य कार्यक्रममा जम्का भेट हुने बाहेक औपचारिक रुपमा भेटघाट छलफल भएको थिएन । बुधबार राजनीतिक सहकार्यका विषयमा पहिलो पटक लेखराज र खगराजबीच छलफल भएको खगराजले बताए । एमाले र माओवादीका दुई शीर्ष नेताबीच प्रदेश सरकार गठनका विषयमा छलफल भएको खगराजले बताए ।
माओवादीबाट दलको नेता र मुख्यमन्त्रीमा खगराजको मात्रै दाबी छ । उनी पार्टीभित्रका हाइप्रोफाइल नेतामा पर्छन् । त्यसैले माओवादीले समेत सुदूरपश्चिमको मुख्यमन्त्री आफ्नो मागमा हुनुपर्ने दाबी छोडेको छैन । एमालेबाट प्रदेश मुख्यमन्त्रीमा राजेन्द्र रावल र चक्रबहादुर मल्लले दाबी गरेका छन् । प्रदेशमा माओवादी ११ सांसद र एमालेका १० जना छन् । प्रदेशको सासदको हिसाब किताबले समेत खगराजको मुख्यमन्त्रीको सम्भावना बलियो भएको देखाएको छ ।