लमजुङको बेंसीसहरमा आयोजित त्रिवेणी कपको ३० औं संस्करणको उपाधि सेन्ट्रल कलेज रामपुर फुटबल क्ल्व(रड्स))चितवनले चुमेको छ ।
बेंसीसहरको सहजीस्थित त्रिवेणी रंगशालामा मंगलबारको फाइनल खेलमा वाग्मती फुटबल क्लब सर्लाही टाइब्रेकरमा ५–४ गोलअन्तरले चुक्यो । पहिलो हाफको १८ मिनेटमा वाग्मती सर्लाहीका अनिल रानाले गोल गरे । आफ्नै खेलाडीले नरोकी छाडिदिएको बल किपर नवीन बस्नेतको टाङमुनिबाटै गुडेर जाली चुमेपछि रड्स रामपुर वाग्मती सर्लाहीसँग बराबरीमा पुग्यो । उक्त बल रड्स रामपुरका सुरेश कुमालले हानेका थिए ।
दोस्रो हाफ र थप १५ मिनेट समय गोलरहित बराबरी खेल भयो । टाइब्रेकरको सुरुमा ५/५ जनाले गोल हान्दा वाग्मती सर्लाहीका देवा गुरुङ, अमर श्रेष्ठ, सुमन चाम्लिङ राई र कासिम राइले लगातार गोल गरे । दिपेश चाम्लिङ गोल गर्न चुके । रड्सका विदेशी अब्देल बहमन र आकाश थापामगरले गोल गर्दा सञ्जिप श्रेष्ठले तेस्रो गोल गर्न चुके । नवराज गुरुङ र विदेशी खेलाडी डिक्काले गोल गरेपछि ४/४ गोल बराबरी भयो । १/१ जनाले बल हान्दा वाग्मती सर्लाहीका आयुस रानाले गोल गर्न चुके । भविन्द्र मल्ल ठकुरीले गोल गर्दै रड्स रामपुरलाई उपाधि चुमाए ।
वाग्मती सर्लाहीको खेलाडी र किपरको असावधानीले भएको गोलका कारण रड्स रामपुरले त्रिवेणी कपको ३० औं संस्करणमा पहिलो उपाधिसँगै ५ लाख रुपैयाँ, त्रिवेणी कप, मेडल र प्रमाणपत्र हात पारे । वाग्मती सर्लाहीले ३ लाख रुपैयाँ, मेडल र प्रमाणपत्रमा चित्त बुझाए । रड्सका अध्यक्ष विजय घलेले त्रिवेणी कप फुटबल प्रतियोगितामा छैटौं पटक माग लिँदा पहिलो जित भएको दाबी गरे । सेमीफाइनलमा पराजित सामना युवा क्लब तुरतुरे तनहुँ र समाज कल्याण काठमाडौंले नगद ५०/५० हजार रुपैयाँ पाए । विजयीलाई प्रतिनिधि सभा सदस्य एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, क्व्होलासोंथर गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष विनोद गुरुङलगायतले पुरस्कार वितरण गरे ।
प्रतियोगिता अवधिभर वाग्मती सर्लाहीका देवा गुरुङ, सेन्ट्रल कलेज रामपुर फुटबल क्ल्व(रड्सका सुरेश कुमाल र समाजकल्याणका विदेशी खेलाडी अब्दुल्लाहले समान २/२ गोल गर्दै नगद १५ हजार रुपैयाँ बाँडे । बेष्ट गोल किपर वाग्मतीका रविन बस्नेत र वेष्ट प्लेयर रड्सका सुरेश कुमाल घोषित भए । उनीहरुले नगद १५/१५ हजार रुपैयाँ पाए । फाइनल खेलमा रड्स रामपुरका किपर भविन्द्र मल्ल ठकुरी म्यान अफ दि म्याच घोषणा हुँदै २ हजार ५ सय रुपैयाँ बटुले । त्रिवेणी कपको ३० औं संस्करण पुस १२ गतेदेखि सुरु भएको थियो ।हरेक वर्ष आयोजना हुने त्रिवेणी कपलाई लमजुङ तथा गण्डकीका अन्य जिल्लाहरूमध्ये आकर्षक पुरस्कार राशिको प्रतियोगिताको रुपमा मानिन्छ ।