नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा आज युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन् । शृंखलाको पहिलो खेलमा पीएनजीविरुद्ध पनि नेपालले पहिले ब्याटिङ गरेको थियो । उक्त खेलको टिममा आज नेपालले दुई खेलाडी परिवर्तन गरेको छ । पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र करण केसीको स्थानमा ललित राजवंशी र गुल्सन झालाई मौका दिइएको छ ।
आगामी वर्ष भारतमा हुने एकदिवसीय विश्वकपको लागि छनोट प्रतियोगिता आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले अब तीन खेल्न बाँकी छ ।
नेपालका लागि बाँकी तीनै खेल महत्वपूर्ण छ । तीनमध्ये दुई खेल यूएई र एक खेल पपुवान्युगिनी (पीएनजी)विरुद्ध खेल्नेछ । तीनवटै खेल जितेमा नेपालले शीर्ष तीनमा रहेर जिम्बाब्वेमा १८ जुनदेखी ९ जुलाईसम्म हुने एकदिवसीय विश्वकप–२०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछ ।
एक खेलमात्र हारेमा पनि नेपालका त्यो सम्भावना समाप्त हुन्छ । नेपालले प्लेअफबाट गुज्रिनुपर्ने हुन्छ । तथापि, आगामी चार वर्षको लागि आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता भने जोगाउने सम्भावना रहन्छ । आईसीसीले शीर्ष पाँचमा रहेने टिमले आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने भनेको छ । तर, यसमा परिमार्जन हुने सम्भावना छ ।
सात देश सम्मिलित आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले ३३ खेलबाट ३४ अंक जोडेर पाँचौ स्थानमा छ । समान खेलबाट ३१ अंक जोडेको यूएई छैटौँ स्थानमा छ । प्रतियोगिताको च्याम्पियन बनेको स्कटल्यान्ड ५० अंकका साथ शीर्ष स्थानमा छ । ४४ अंक जोडेको ओमान दोस्रो स्थानमा छ । स्कटल्यान्ड र ओमान दुवैले जिम्बाब्वेमा हुने छनोट प्रतियोगितामा स्थान पक्का गरिसकेका छन् ।
तेस्रो स्थानमा नामिबिया छ । नामिबियाले ३९ अंक जोडेको छ । सबै खेल जितेमा नेपालको ४० अंक हुनेछ । र नामिबियालाई पछि पार्दै नेपालले जिम्बाब्वेको टिकट पक्का गर्नेछ । अन्यथा नामिबिया छनोट हुनेछ ।
३५ अंक जोडेको अमेरिका चौथो स्थानमा छ । पीएनजी ११ अंकका साथ सातौँ स्थानमा छ ।
नेपालमा जारी त्रिदेशीय शृंखलामा नेपालले यूएईविरुद्ध पहिलो खेल खेल्न लागेको हो । यसअघि नेपालले नेपाल पीएनजीलाई ५२ रनले हराएको थियो । यूएई भने पीएनजीसँग ५६ रनले पराजित भएको थियो ।
शीर्ष तीनमा रहने सम्भावना सकिएकाले यूएई बाँकी तीन खेल जितेर आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्न चाहान्छ । यूएईलाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्न नेपाललाई पराजित गर्नेपर्ने हुन्छ । नेपाल भने यो खेल जितेर दुई खेल अगाबै आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायमै राख्ने योजनामा छ ।
नेपाली टिमः
रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, गुल्सन झा, सन्दीप लामिछाने