शरीरको आवश्यकता अनुसार आयोडिनयुक्त नुन खान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । आयोडिन शरीरलाई दैनिक रूपमा नभई नहुने सुक्ष्म पोषक तत्व भएकाले मात्रा मिलाएर खानु पर्नेमा मन्त्रालयको जोड छ ।
“यसले थाइरोइड ग्रन्थीबाट थाइरोइड हर्मोनहरू निकाल्न मद्दत गर्दछ । शरीरको नियमित क्रियाका लागि जस्तै कोशिकाहरूको कार्य सूचारु राख्न, दिमागको वृद्धि विकास गर्नजस्ता मुख्य काममा सहयोग गर्दछ । शारीरिक र मानसिक विकासका लागि चाहिने हर्मोन उत्पादनका लागि पनि आयोडिनको आवश्यकता पर्दछ,” मन्त्रालयले भनेको छ, “नेपालको भौगोलिक अवस्थाले गर्दा यहाँको माटो र पानीमा आयोडिनको अभाव छ । त्यसैले खानामा आयोडिन मिसाएको नुन खानु नै एक मात्र सरल उपाय हो ।”
गर्भावस्थामा रहेका महिलाका लागि आयोडिन अझ धेरै महत्त्वपूर्ण हुन्छ । गर्भवती महिलाले दैनिक रूपमा आयोडिन नुनको सही मात्रा ५ ग्रामभन्दा कम खाएमा उनीबाट जन्मेको शिशुको दिमागको विकास राम्रो हुन्छ ।
“आयोडिनको कमीबाट गर्भको बच्चा खेर जाने, मृत वा अपांगता भएका, बोलाई वा शारीरिक अपांगता भएका र सुस्तमनस्थिति भएका बच्चा जन्मिने समस्या हुन्छ,” मन्त्रालयले सार्वजनिक सूचनामा उल्लेख छ ।
बालबालिका १२ महिना भएदेखि खानामा आयोडिनयुक्त नुन खुवाउनु पर्छ । आयोडिनयुक्त नुन खुवाएमा बालबालिकाको मानसिक तथा शारीरिक विकासमा सहयोग गर्छ । आयोडिनयुक्त नुन खाएका बालबालिकामा बौद्धिक विकास राम्ररी भई चनाखो हुन्छ ।
“किशोरावस्थामा आयोडिनको सही मात्राले मानसिक तथा शारीरिक क्षमतामा वृद्धि हुन्छ, जसले गर्दा पढाइका साथै अन्य क्रियाकलापमा पनि सकारात्मक प्रभाव पर्छ,” सूचनामा उल्लेख छ, “सबै उमेरमा आयोडिनको सही मात्राले मानसिक तथा शारीरिक विकास राम्ररी हुन्छ । जसले गर्दा गलगाँड तथा हाइपोथरोइडजम् जस्ता समस्याहरू हुनबाट बचाउँछ ।”
ढिके वा खुलारूपमा बिक्री गरिने नुनमा मानिसको शरीरलाई दैनिक रूपमा आवश्यक पर्ने आयोडिनको मात्रा नहुन पनि सक्ने भएकाले दुई बालबालिकाको चिह्न भएको प्याकेटको नुन नै खानु पर्ने मन्त्रालयले जनाएको छ ।
“वयस्कहरूले दैनिकरूपमा पाँच ग्रामभन्दा कम नुनको प्रयोग गर्नुपर्छ । बालबालिका १२ महिना पूरा भएपछि बढीमा दुई ग्राम नुन दिनभरिको खानामा प्रयोग गर्नुपर्दछ,” मन्त्रालयको सूचनामा उल्लेख छ ।
आयोडिनयुक्त नुनलाई हावा नछिर्ने भाँडामा राख्नुपर्छ । घाम र पानीले असर गर्ने ठाउँमा राख्नु हुँदैन ।
शरीरले पर्याप्त मात्रामा आयोडिन नपाउँदा गलगाँड आउने सम्भावना हुन्छ । गर्भावस्थामा रहेकी महिलालाई आवश्यक मात्रामा आयोडिन नभए गर्भ खेर जाने वा मृत शिशु जन्मने सम्भावना हुने मन्त्रालयले जनाएको छ ।
“मानसिक र बौद्धिक क्षमतामा कमी आउने हुन्छ । शिशुको दिमागको विकास राम्रो नभई जन्मने, सुस्तमनस्थिति हुने सम्भावना हुन्छ,” सूचनामा भनिएको छ, “काम गर्न सक्ने क्षमतामा कमी आउने र आलस्यपन आउने हुन्छ । त्यसैले खानामा आयोडिन मिसाएको नुन खानु पर्छ ।”