३ वर्षदेखि लुम्बिनीमा अलपत्र परेका विद्युतीय सवारी सञ्चालनको बाटो खुलेको छ ।लुम्बिनी प्रदेश सरकारले सेतो नम्बर प्लेटका गाडीलाई हरियो प्लेटमा रूपान्तरण गर्ने निर्णय गरेसँगै सञ्चालनको आशा पलाएको छ ।
एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत १३ करोडमा लुम्बिनी विकास कोषलाई ५ वटा बस र १४ वटा भ्यान प्राप्त भएका हुन् । विक्रम संवत् २०७७ मंसिर ९ गते यी विद्युतीय बस र ट्याक्सी लुम्बिनी ल्याइएको थियो ।लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले प्रदेश सरकारको निर्णयले लामो समयदेखि थन्किएका विद्युतीय बस सञ्चालनको बाटो खोलेको बताए । सो कार्यान्वयनका लागि मातहत यातायात व्यवस्था कार्यलय सवारी रुपन्देहीलाई समेत निर्देशन गरिसकेको पत्र कोषलाई प्राप्त भएको कोषाध्यक्ष भट्टराईले जानकारी दिए ।
यी विद्युतीय सवारी नेपाल भित्र्याउँदा साढे ३ करोड बढी भन्सार राजस्व सरकारले व्यहोरेको थियो । यी सवारीका लागि भनेर नै लुम्बिनीमा १३ करोड ९० लाख लगानीमा चार्जिङ स्टेसन समेत बनिसकेको छ । ‘खुशी छु, यी बस तथा भ्यानहरूले न्याय पाउने भएका छन्, म कोषाध्यक्ष भएपछि बसेको पहिलो बैठकदेखि विद्युतीय बस सञ्चालनका लागि निरन्तर कुरा उठाउँदै आएकोमा आज बल्ल यसले आधिकारिक रूपमा पर्यटकहरूको सेवामा गुड्न पाउने नम्बर प्लेटको अनुमति पाउने बाटो खुलेको छ,’ उनले भने ।लुम्बिनी आउने पर्यटकलाई भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट लैजाने योजना छ ।