संसारका विभिन्न मुलुकका ६ सय आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा चढेसँगै यस वर्षको आरोहण सकिएको छ। सरकारले यो वर्षको वसन्तयामका लागि २८ वटा हिमाल आरोहण गर्न अनुमति दिएको थियो । त्यसमध्ये शनिवारदेखि सगरमाथा आरोहण सकिएको छ भने अन्य हिमाल आरोहण अझै पूरा भएको छैन ।
हिमाल आरोहण गर्न अनुमति दिएवापत यो वर्ष ७६ करोड ५७ लाख रुपैयाँ रोयल्टी उठेको छ। पर्यटन विभागका अनुसार यो वसन्तयाममा सगरमाथासहित २८ हिमालबाट ७६ करोड ५७ लाख ५८ हजार रुपैयाँ रोयल्टी संकलन भएको हो। सन् २०२२ मा ४७ हिमाल आरोहणबाट ५३ करोड ३५ लाख रुपैयाँ रोयल्टी संकलन भएको थियो। यस्तै, सन् २०२१ मा ४९ करोड रुपैयाँ संकलन भएको थियो ।
सगरमाथा आरोहणका लागि ६५ मुलुकका ४७ समूहका ४ सय ७८ जनाले अनुमति पाएका थिए। त्यसमध्ये ३ सय ७६ पुरुष र १ सय २ जना महिला थिए। विभागका अनुसार यो वर्ष सगरमाथा आरोहणका लागि अनुमति लिने आरोहीको संख्या हालसम्मकै उच्च हो ।सगरमाथा आरोहण अनुमति लिन विदेशी नागरिकले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्ने व्यवस्था छ। नेपालीले भने प्रतिव्यक्ति ७५ हजार नेपाली रुपैयाँ तिरे पुग्छ ।