spot_img
spot_img

नारायणगढ-मुग्लिन सडकमा थप ३ पुल तयार, दसैंसम्म अरु १० वटा बन्ने

spot_img
spot_img

नारायणगढ मुग्लिन सडकखण्डमा थप ३ वटा पुल तयार भएका छन् ।सडक आयोजना प्रमुख किरण कार्कीका अनुसार सेतीदोभान, डुम्रे र लामो बालुवाका तीन पुल तयार भएका छन् ।असार मसान्तभित्र तीनवटै पुलबाट सवारी साधानहरु गुड्न थाल्ने कार्कीले बताए । अहिले सेतीदोभानको पुलको कालोपत्रे गर्ने, रेलिङ र फुटपाथको काम सकिएको छ । रंगरोगनको काम जारी छ ।

यस्तैं, डुम्रे र लामो बालुवाको पुलको दायाँबायाँको बेसको काम सकेर कालोपत्रे गर्ने अन्तिम तयारीमा छ । केहीदिन भित्रै कालोपत्रे हुने आयोजना प्रमुख कार्कीले जानकारी दिए ।यो सडकखण्डमा बनाइने १९ पुलमध्ये हालसम्म ४ पुल बनेर सञ्चालनमा आइसकेका छन् भने बाँकी तीन पुल सञ्चालनको तयारी छ । बाँकी १२ पुल मध्ये ११ वटाको निर्माण धमाधम भैरहेको छ । एउटा पुलको काम सुरू हुन बाँकी छ ।१० वटा पुलको पनि ढलानको काम सकिएकोले दसैंभन्दा अगाडि नैसञ्चालन गर्ने तयारीका साथ काम भैरहेको आयोजना प्रमुख कार्कीले बताए ।

मुग्लिनबाट नारायणगढतर्फ आउने खहरे खोला पुलमा दुवैतर्फको फाउण्डेशनको काम सकिएर आर्कको तयारी गरिएको छ । अहिलेको पुलभन्दा तल्लो भागमा बन्ने पुलको नारायणतर्फको मुखमा रहेका घर टहरा हटाउने मुअब्जाको काम नसकिंदा ढिलाइ भएको आयोजना प्रमुख कार्कीको भनाइ छ ।सडकखण्डमा पुल आसपास बसोवास गरेकाहरुलाई मुअब्जा दिएर मात्रै हटाउनुपर्ने प्रावधान रहेका कारणले केही ढिलाइ भएको हो ।आयोजनाले ९७ लाख रुपैयाँ सरकारसँग मुअब्जा वापतको रकम माग गरेकोमा ५० लाखको किस्ता आएर रकम बाँडिएको छ ।

एक घर टहराको ४० हजारदेखि १५ लाखसम्म मुअब्जा वितरण गर्नुपर्नेमा पहिलो किस्तावापत ४० प्रतिशत रकम दिइएको बताए । खण्डका २६ घरटहरा हटाउनुपर्ने छन् ।खहरेमा ३ वटा घर टहरा भत्काएर काम गर्न थालिएको र बाँकी घर टहरा हटाउने काम पनि जारी रहेको बताए ।सबैभन्दा समस्या तुइन खोलाको पुलको भएको छ । सो खोलाको मुग्लिनतर्फको भागमा रहेको ठुलो ढुंगा कटिङ गरेर फाल्न खोज्दा नसकिए पछि विस्फोट गर्नुपर्ने निष्र्कष निकालेर आयोजनाले विस्फोट पदार्थ खरिदका लागि नेपाली सेनामार्फत भारतीय दूतावासमा फाइल लगेको छ ।विस्फोटक पदार्थ ल्याउँन जति ढिला हुन्छ पुलको काम त्यति नै लम्बिने आयोजना प्रमुख कार्कीले बताए ।

आयोजनाले झण्डैं ३ महिना दैनिक ४ घण्टा सवारी रोकेर पहाड काट्ने काम गरेपनि तुइन खोलाको मुग्लिनतर्फको भाग भने क्लियर गर्न सकेन ।नारायणतर्फको भागको कटिङ भने सकिएको छ । १५ बटैं पुल निर्माणको ठेक्का पाएको अनक कन्स्ट्रक्सनले २०८० सालको पुस मसान्तसम्ममा सबै पुल बनाइसक्नुपर्छ ।विसं २०७६ को चैतमा एक अर्ब २७ करोडको लागतमा १५ पुल बनाउने ठेक्का पाएको अनकको म्याद एक बर्ष थप गरिएको थियो ।नारायणगढ-मुग्लिन सडक आयोजनाले मुग्लिन नजिकैको खहरे खोलादेखि रिग्दी खोलासम्मका सात वटा पुललाई प्याकेज-१ र जुगेडीदेखि सिमलतालसम्मका आठ वटा पुललाई प्याकेज-२ बनाएर काम अघि बढाएको हो ।

प्याकेज-१ अन्तर्गतका पुल इच्छाकामना गाउँपालिकामा र प्याकेज-२ अन्तर्गतका पुल भरतपुर महानगरपालिकामा पर्छन् ।प्याकेज-१ मा मुग्लिनबाट यताका खहरे, चिसेञ्जी, तुइन, काली, टोपे, न्याम्सी र रिग्दीखोला गरी सात पुल छन् ।प्याकेज-२ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान गरी आठ पुल छन् ।प्याकेज-१ का पुल ६७ करोड ९९ लाख ५९ हजार रुपैयाँमा र प्याकेज-२ का पुल ५९ करोड ५ लाख ५९ हजार रुपैयाँ लागत रहेको छ ।यो सडकखण्डमा २५ देखि ७५ मिटर लामा पुलहरू बनिरहेका छन् । पुलको चौडाइ सडकसँग मिल्ने गरी ७ मिटरदेखि ११ मिटर बन्दैछन् ।

दैनिक १० हजार हाराहारी सवारी आवतजावत गर्ने अनुमान गरिएको यो सडकखण्डलाई विश्वबैंकको अनुदान सहयोगमा ९ मिटरदेखि ११ मिटरसम्म सडक फराकिलो बनाउने काम ४ बर्ष अगाडि सम्पन्न गरिएको थियो । सडक फराकिलो भएको तर पुल साँघुरो र जीर्ण भएकोले नयाँ पुल बनाउने काम अगाडि बढेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img