spot_img
spot_img

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक जिम्बाब्वेसँग खेल्दै नेपाल

spot_img
spot_img
आईसीसी विश्वकप छनोटको पहिलो खेलका लागि आज (आइतबार) मैदान उत्रिँदा नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो भेटमै जिम्बाब्वेविरुद्ध अप्रत्यासित जित निकाल्ने लक्ष्यमा हुनेछ । नेपालले पहिलोपटक टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।
नेपालले यसअघि जिम्बाब्वविरुद्ध ५० ओभरको एकमात्र खेल खेलेको छ । लिस्ट ‘ए’ मान्यता रहेको उक्त खेलमा नेपाल ११६ रनले पराजित भएको थियो ।विश्वकप छनोट प्रतियोगिताको उक्त खेलमा जिम्बाब्वेका सिकन्दर राजा र ब्रेन्डान टेलरले शतक बनाएका थिए । आज हरारे स्पोर्ट्स क्लबमा नेपाली समयानुसार मध्याह्न १२ः४५ बजेदेखि सुरु हुने नेपाल र जिम्बाब्वेबीचको खेल यी दुई टिमबीचको पहिलो एकदिवसीय मान्यताप्राप्त क्रिकेट बन्नेछ ।आईसीसी क्रिकेट विश्वकप लिग–२ का पछिल्लो १२ मध्ये ११ खेलमा जितको नतिजा निकालेको नेपाल घरेलु टिमविरुद्ध पनि सोही लयलाई निरन्तरता दिने योजनामा हुनेछ ।
पहिलो खेलअघि नेपाली टिमका ओपनर ब्याटर आसिफ शेख प्रतियोगिताका लागि टिम उत्साहित रहेको बताउँछन् ।
“विश्वकप छनोटमा आइपुग्नु अविश्वसनीय कुरा हो,” आसिफले भने, “इमानदार भएर भन्नुपर्दा १२ खेलमध्ये ११ खेल जित्नु आश गरिएको कुरा थिएन । यो टिम इफोर्टको परिणाम थियो, सबैले योगदान दिएका छन् । मलाई लाग्छ नेपाली क्रिकेटमा अहिले हामी उत्कृष्ट यात्रा तय गरिरहेका छौँ । र, हामी विश्वकप छनोटका लागि निकै उत्साहित छौँ ।”
आसिफले लिग–२ का दौरान घरेलु मैदानमा सम्पन्न श्रृंखलामा समर्थकबाट उत्कृष्ट साथ पाएको र त्यो जिम्बाब्वेमा ‘मिस’ हुने बताए ।“नेपालमा हामीले पाएको समर्थन अविश्वसनीय थियो । फाइनलका दिन हाम्रो खेल हेर्न ठूलो संख्यामा मानिसहरू उपस्थित भएका थिए,” आसिफले थपे, “हामीले यहाँ त्यो समर्थनलाई मिस गर्नेछौँ । तर, उनीहरूले नेपालबाट नै समर्थन गर्नेछन् भन्ने हामीलाई थाहा छ । हामी कहाँ खेल्छौँ भन्ने कुराले महत्व नै राख्दैन । किनकि, जहाँ खेले पनि नेपाली समर्थक हामीसँगै छन् भन्ने थाहा छ । उनीहरू हामीलाई नेपालबाट नै समर्थन गर्नेछन् भन्नेमा दुईमत छैन ।”
नेपालले विश्वकप छनोटका लागि १० दिन दक्षिण अफ्रिकामा अभ्यास गरेको थियो । दक्षिण अफ्रिकामा अभ्यासका क्रममा स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अनौपचारिक तयारी खेल खेलेको नेपाल दुवै खेलमा पराजित भएको थियो ।
नेपाल १० दिनको दक्षिण अफ्रिका बसाइँपछि जिम्बाब्वे गएको थियो । नेपालले जिम्बाब्वेमा पनि दुई वार्म अप खेल खेलेको थियो । पहिलो ‘वार्म अप’ खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग पाँच विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा भने ओमानलाई तीन विकेटले हराएको थियो ।
विश्वकपमा नेपाल
नेपाल हालसम्म एकदिवसीय विश्वकपमा छनोट हुन सकेको छैन । यसअघि, नेपालले सन् २०१९ को विश्वकपका लागि २०१८ मा भएको छनोटमा नेट रनरेटका कारण सुपर सिक्ससम्मको यात्रा पनि तय गर्न सकेको थिएन ।
तर, नेपालले एकपटक आईसीसीको ठूलो प्रतियोगिता भने खेलेको छ । नेपाली टिमले सन् २०१४ मा पहिलोपटक ट्वान्टी–२० विश्वकप खेलेको थियो । यो नै नेपालले खेलेको हालसम्मकै ठूलो आईसीसी प्रतियोगिता हो ।
विश्वकप छनोटमा नेपालको खेल
विश्वकप छनोटमा सहभागी १० टिम दुई समूहमा विभाजित छन् । समूह ‘ए’मा रहेको नेपालसँगै घरेलु टिम जिम्बाब्वे, अमेरिका, वेस्ट इन्डिज र नेदरल्यान्ड्स छन् । समूह ‘बी’मा आयरल्यान्ड, श्रीलंका, यूएई, ओमान र स्कटल्यान्ड छन् ।
जिम्बाब्वेविरुद्ध नेपाल असार ३ गते
अमेरिकाविरुद्ध नेपाल असार ५ गते
वेस्ट इन्डिजविरुद्ध नेपाल असार ७ गते
नेदरल्यान्ड्सविरुद्ध नेपाल असार ९ गते ।
- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img