लामो समयको खडेरीका कारण धान रोप्न नपाएका यहाँका किसान नारायणी सिँचाइ आयोजनाबाट पानी नछोड्दा अझै अन्योलमा छन् । यस सिँचाइ आयोजनाबाट पानी छोडेर धान रोप्ने किसान पानी छोड्ने दिन गन्दै बसेका छन् । लिफ्टबाट पानी छोड्न समय लाग्ने भएको छ ।
लिफ्टमा मेसीन जडानको काम भइरहेकाले केही दिन लाग्ने आयोजनाका इन्जिनियर कुलराज चालिसेले जानकारी दिनुभयो । पुराना पम्प मोटर बिग्रिदा नयाँ मोटर जडानको काम भइरहेको छ । अहिले चारवटा मोटर जडानको काम भइरहेकाले अझै केही दिन पानी छोड्न कठिन हुने उहाँले बताउनुभयो । चालिसेले भन्नुभयो, “असार मसान्तभित्र मेसिन जडानको काम सकिन्छ । त्यसलगत्तै पानी छाड्ने योजनामा रहेका छाँै ।” रु २६ करोडको ठेक्का सम्झौतामा भारतीय कम्पनीले मेसिन जडानको काम गरिरहेकाले केही दिन लागेको उहाँले जानकारी दिनुभयो । उहाँले थप्नुभयो, “साउन पहिलो साताभित्र पानी दिने गरी काम गरिहेका छौँ ।”
नारायणी लिफ्टमा रहेका चार पम्पमध्ये दुई वटाबाट दुई घनमिटर प्रतिसेकेण्ड र दुईवटा पम्पबाट चार घनमिटर प्रतिसेकेण्ड पानी तान्ने क्षमता रहेको छ । यस्तै खगेरी सिँचाइबाट असार १५ गतेदेखि नहरमा पानी छोडिएको छ । अहिले यस नहरको दुई क्यानलबाट पानीको पठाइएको उहाँले जानकारी दिनुभयो । लामो समय खडेरी पर्दा खोलामा पानी नभएका कारण सो नहरबाट समेत क्षमताअनुसारको पानी पठाउन नसकिएको कार्यालयले जनाएको छ । विसं २०२६ मा सञ्चालनमा आएको खगेरी सिँचाइ आयोजनाले तीन हजार नौ सय हेक्टर क्षेत्रफल सिञ्चित गर्दछ । खगेरी खोला, ताल र घोलबाट आएको पानीलाई सङ्कलन गरी नहरमा पठाइने गरिएको छ । यसबाट १५ हजार परिवार लाभान्वित भएका छन् ।