नेपाली कांग्रेस चितवनले ४१औँ बिपी स्मृति दिवसको अवसरमा आजदेखि १५ दिने सदस्यता वितरण तथा नविकरण अभियान सञ्चालन गरेको छ ।
नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालका अनुसार आज जिल्लाका ९८ वटै वडामा एकैसाथ अभियान सञ्चालन गर्न लागिएको हो । अभियानका लागि सबै वडामा जिल्लाबाट प्रतिनिधि खटाइएको उहाँले जानकारी दिनुभयो । अभियानका क्रममा नेपाली कांग्रेसको सदस्यता वितरण, क्रियाशील सदस्यता नवीकरणलगायतका जागरणका काम गरिनेछ ।नयाँ सदस्यताका लागि अनलाइनबाट समेत फाराम भर्न सकिनेछ । अहिले वितरण गरिएको साधारण सदस्यलाई एक वर्षपछि वडाको सिफारिसमा क्रियाशील सदस्यता दिन सकिनेछ । चौधौँ महाधिवेशनमा जिल्लामा नेपाली कांग्रेसका २८ हजार दुई सय क्रियाशील सदस्य रहेका थिए ।