चितवन । बैदिक सनातनीहरु एक हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । विश्व हिन्दु युवा संघ चितवनले आज भरतपुरमा आयोजना गरेको दसैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमका वक्ताहरुले सनातनीहरु एक भएर धर्म र संस्कृतिको संरक्षणमा जुट्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथि लक्ष्मी बैकुण्ठनाथ मन्दिर लङ्कूका पिठाधीश जगन्नाथाचार्यले बैदिक सनातनीहरु धर्म र संस्कृतिको हिसाबले धनी रहेको बताउनुभयो । सनातनीहरुको धर्म र संस्कृतिमाथि निरन्तर प्रहार हुने क्रम भइरहकाले सबै सनातनीहरु एक भएर त्यस्तो प्रहारको प्रतिकार गर्नुपर्नेमा जगन्नाथाचार्यले जोड दिनुभयो । उहाँले दसैँ, तिहार तथा छठ पर्वहरुको आफ्नै विशेषता रहेकाले धर्म र संस्कृति हर्षोल्लासका साथ मनाउन आग्रह गर्नुभयो ।
सो कार्यक्रममा विश्व हिन्दु युवा संघ जिल्ला कार्यसमिति चितवनका अध्यक्ष घनश्याम पौडेल ‘श्याम’ले दसैँले नेपालीहरुमाझ सद्भाव र सहिष्णुता प्रदान गर्ने बताउनुभयो । बैदिक सनातनीहरु सृष्टिका हरेक उत्पत्तीको पूजा गर्ने समुदाय भएको भन्दै उहाँले धर्म र संस्कृति संरक्षण गर्न युवाहरु जागरुक हुनुपर्नेमा जोड दिनुभयो । विश्व हिन्दु युवा संघले दसैँपछि जय सनातन अभियान सञ्चालन गर्ने तयारी गरेको भन्दै अभियानमा सम्पूर्ण युवाहरु सहभागी हुनसमेत उहाँले आग्रह गर्नुभयो ।
नेपाली भाषा, संस्कृति, धर्म, परम्परा संरक्षणका लागि अभियान सुरु गर्न लागेको पौडेलले बताउनुभयो । सो कार्यक्रममा विश्व हिन्दु महासंघ युवा परिचालन समितिमा मनोनित भएका पालिका संयोजक एवं पदाधिकारीहरुलाई स्वागत एवं सम्मान गरिएको विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय सदस्य एवं जिल्ला सचिव फूलनाथ निउरेले बताउनुभयो ।
कार्यक्रममा विश्व हिन्दु महासंघ चितवनका अध्यक्ष प्रेम गैरे, वैदिक युवा परिषद् नेपालका अध्यक्ष प्रताप कँडेल, विश्व हिन्दु महासंघ महिला संघकी अध्यक्ष सिर्जना पाण्डेलगायतले चाडपर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मन्तव्य राख्नुभएको थियो ।