spot_img
spot_img

भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

spot_img
spot_img

शुक्रबार रातिको भुइँचालोमा परेर जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ।

सदरमुकाम खलंगास्थित माथिल्लो थाप्लेमा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिए।

उनका अनुसार घटनास्थलबाट उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै सिंहको मृत्यु भएको हो।

उपमेयर सिंहका काका जय सिंहले पनि भुइँचालोमा परेर उनको मृत्यु भएको पुष्टि गरे। त्यस्तै, नलगाड नगरपालिकाका सूचना प्रविधि अधिकृत जुना शाहीले पनि उपमेयर सिंहको मृत्यु भएको बताइन्।

नलगाड नगरपालिका-८ मैदेकी सिंह स्थानीय तह २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट उपमेयरमा निर्वाचित भएकी थिइन्।

पश्चिम नेपालमा शुक्रबार राति आएको ६.४ म्याग्निच्युडको भुइँचालोले अहिलेसम्म कम्तिमा ३६ जनाको ज्यान गएको पुष्टि भएको छ।

रूकुमको आठविसकोट नगरपालिकामा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने रूकुमकै सानीभेरी गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ। त्यस्तै, जाजरकोटको भेरी नगरपालिकामा ९ जना र कुशे गाउँपालिकामा ७ जनाको मृत्यु भएको छ।

हामीलाई प्राप्त पछिल्लो विवरणअनुसार जाजरकोटको कुशे गाउँपालिका-७ धनरासेमा घरहरू भत्किँदा ७ जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए।

‘घरहरू धेरै भत्किएका छन्,’ उनले भने, ‘घाइतेहरूबारे पूर्ण जानकारी आएको छैन, हामी सूचना लिँदैछौं।’

जाजरकोटकै भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले विभिन्न वडामा घर भत्किँदा ९ जनाको मृत्यु भएको जानकारी दिए।

‘विभिन्न वडाबाट आएको विवरणअनुसार अहिलेसम्म ९ जनाको मृत्यु भएको छ, बाँकी विवरण संकलन हुँदैछ,’ उनले भने, ‘हामी उद्धारमा लागिरहेका छौं।’

मेयर घर्तीका अनुसार जाजरकोट जिल्ला अस्पताल घाइतेहरूले भरिएको छ। जिल्ला अस्पतालमा सयौंको संख्यामा घाइतेहरू रहेको उनले बताए।

तत्काल भेरी नगरपालिकाका वडा नम्बर ३ र ४ बाहेक अन्यत्र उद्धार टोली जान नसकेको र वडा नम्बर १ र २ मा पनि हताहतीको खबर आएको उनले जानकारी दिए। ‘हताहती निकै भएको देखिएको छ, अस्पताल पनि खचाखच भरिएको छ,’ उनले भने।

त्यस्तै, रूकुमको आठविसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीका अनुसार वडा नम्बर ११ मा सबभन्दा बढी सात जनाको मृत्यु भएको छ भने वडा नम्बर १२ मा चार जना र वडा नम्बर १३ मा तीन जनाको मृत्यु भएको छ।

‘अहिलेसम्म तीनवटा वडामा गरेर १३ जनाको मृत्यु भएको खबर आएको छ। पूर्ण विवरण अझै आइसकेको छैन,’ उनले  भनिन्, ‘कुन ठाउँमा कति घर क्षति भयो भन्ने पनि स्पष्ट भइसकेको छैन। हामी उद्दारका लागि उपलब्ध सबै संयन्त्र परिचालन गरिरहेका छौं।’

रूकुम पश्चिमको सानीभेरी गाउँपालिकामा पाँच जनाको मृत्यु भएको त्यहाँका प्रहरी प्रवक्ता इन्सपेक्टर धर्मेन्द्र खड्काले जानकारी दिए। उनका अनुसार वडा नम्बर १ मा चार जना र वडा नम्बर २ मा एक जनाको मृत्यु भएको हो। त्यहाँ कम्तिमा दस जना घाइते छन्।

खड्काका अनुसार सानीभेरी-२ परियार टोलकी १२ वर्षीया मनिषा परियार, सानीभेरी-१ चाइनाबगर टोलका ३१ वर्षीया धनवीर पुन, २८ वर्षीया चुम्निमा पुन, ८ वर्षीय यमराज पुन र २ वर्षीय शितल पुनको घरमा च्यापिएर मृत्यु भएको हो।

जाजरकोटको खलंगामा पनि केही घर भत्किएको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिनायट घर्तीले जानकारी दिए। सल्यान र रोल्पामा पनि केही घर भत्किएको त्यहाँका प्रहरीले बताएका छन्।

नगलगाड नगरपालिका-४ का वडाध्यक्ष बद्री पन्तका अनुसार उनको वडामा मात्र २४ भन्दा बढी घर भत्किएका छन्। मानवीय क्षतिको खबर भने नआएको उनले बताए।

यो भुइँचालोको धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यहाँ अहिलेसम्म कुनै क्षतिको विवरण भने आएको छैन।

पश्चिम नेपालका विभिन्न ठाउँमा केन्द्रविन्दु रहेर केही समययता लगातार भुइँचालो गइरहेका छन्। त्यहाँ लामो समयदेखि ठूलो भुइँचालो नगएकाले ठूलो भूकम्पीय शक्ति थुप्रिएर रहेको भूगर्भविदहरू बताउँछन्।

 

नेपालको भूसतहमुनि इन्डियन र युरेसियन प्लेटको घर्षण भइरहेको छ। हामीकहाँ आउने भुइँचालोको कारण त्यही घर्षण हो। भूगर्भविदहरूका अनुसार इन्डियन प्लेट वार्षिक दुई सेन्टिमिटरका दरले युरेसियन प्लेटमुनि घुस्रिँदै जानुपर्छ। सय वर्षमा त्यो दुई मिटर हुन्छ भने पाँच सय वर्षमा १० मिटर हुन्छ।

पश्चिम नेपालमा ८ म्याग्निच्युड हाराहारीको ठूलो भुइँचालो नगएको पाँच सय वर्षभन्दा बढी भइसकेको छ। त्यहाँ सन् १५०५ मा ८.४ म्याग्निच्युड वा त्योभन्दा ठूलो भुइँचालो गएको थियो। भन्नुको मतलब, विगत पाँच सय वर्षदेखि ठूलो भुइँचालो नगएकाले पश्चिम नेपालको भूसतहमुनि इन्डियन प्लेट आफ्नो नियमित गतिमा युरेसियन प्लेटमुनि घुस्रिन पाएको छैन। यसले ठूलो परिमाणको भूकम्पीय शक्ति त्यहाँ जम्मा भएर बसेको छ।

पश्चिम नेपालको भूसतहमुनि थुप्रिएको भूकम्पीय शक्ति त्यति नै ठूलो छ, जति शक्तिले इन्डियन प्लेटलाई १० मिटर युरेसियन प्लेटमुनि धकेल्छ। भौगर्भिक सर्वेक्षणबाट पनि यो क्षेत्रमा ठूलो भूकम्पीय शक्ति थुप्रिएर बसेको पुष्टि गर्छ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img