चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पताल र चितवनकै इच्छाकामना गाउँपालिकाबीच अस्पतालका सेवामा छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार गाउँपालिकावासीलाई उपचारमा २० प्रतिशत छुट हुने भएको हो । गाउँपालिकाका चेपाङ समुदायलाई भने २५ प्रतिशत छुट दिने सहमति भएको छ ।
सम्झौतामा चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटा र गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले आज हस्ताक्षर गर्नुभयो । सम्झौतामा सिएमसीले ईच्छाकामनाको ईमेल मार्फत् अस्पतालमा विवरणहरु इन्ट्री गर्ने साईट उपलब्ध गराउने छ । उक्त साइटमा इन्ट्री भएका सम्पूर्ण गाउँपालिकावासीको फोटो खिचाई पालिकाले कार्ड प्रिन्ट गराउन सक्ने व्यवस्था गरिएको छ । सोही कार्डका आधारमा सिएमसीले उपचार सेवाहरुमा २० प्रतिशत छुट दिनेछ ।
तर सीमान्तकृत चेपाङ जातिको हकमा २५ प्रतिशत रकम छुट दिने सम्झौता भएको प्रमुख प्रशासक देवकोटाले जानकारी दिनुभयो । अस्पतालको फार्मेसीले ७ प्रतिशत छुट दिने पनि सम्झौतामा उल्लेख छ । इमर्जेन्सी र ओपिडी टिकमा समेत छुट लागू हुने उहाँले जानकारी दिनुभयो । कार्ड प्राप्त नभएमा वडा र गाउँपालिकाको सिफारिसमा यस्तो छुट सुविधा दिने सम्झौता भएको छ । यसैगरी सिएमसीको भगिनी संस्था रोयल क्यान्सर इन्स्टिच्यूटमा सञ्चालित सिटिईभिटीको पढाईमा उक्त पालिकावासी विद्यार्थीलाई १० प्रतिशतसम्म छुट लागि सिफारिस गर्ने दुवै पक्षबीच सम्झौता भएको प्रमुख प्रशासक देवकोटाले जानकारी दिनुभयो ।
यसैगरी गाउँपालिकाले आफ्नो कार्यालय र वडा कार्यालयहरुमा सर्वसाधारणले देख्ने गरी ‘मेडिकल पार्टन चितवन मेडिकल कलेज ९सिएमसी०” उल्लेख गरेको बोर्ड राख्नु पर्ने छ । यसैगरी गाउँपालिकाले स्वास्थ्य सम्बन्धी कुनै कार्यक्रम सञ्चालन गर्नु परेमा सिएमसीले स्वास्थ्य जनशक्ति उपलब्ध गराउने सम्झौता भएको अध्यक्ष गुरुङले बताउनुभयो ।
वैशाख १ गतेबाट लागू हुने यो सम्झौता ०८४ वैशाख ३० गतेसम्म मान्य उहाँले जानकारी दिनुभयो । सम्झौताका अवसरमा अध्यक्ष गुरुङले गाउँपालिकावासीको स्वास्थ्य उपचारको सुविधालाई थप सहज बनाउन सिएमसीसँग सम्झौता गरिएको बताउनुभयो । गाउँपालिकाले स्वास्थ्यलाई प्राथमिकता दिंदै आएको भन्दै उहाँले पालिका अस्पतालमा उपचार सम्भव नभएका जटिल प्रकृतिका समस्याका लागि सिएमसी सहज हुने बताउनुभयो ।