शनिबार पनि चम्किए ‘पूजार सार्की’ र ‘फर्की फर्की’

बुद्ध जयन्तीको सार्वजनिक विदा पारेर बिहीबारबाट प्रदर्शनमा आएका दुई फिल्म ‘पूजार सार्की’ र ‘फर्की फर्की’ले हलमा दर्शकको मेला लगाएका छन् । सानदार ओपनिङ गरेका दुवै फिल्म शनिबार पनि बक्स अफिसमा चम्किएका छन् । बिहानैदेखि देशभरका हलमा दुवै फिल्मप्रति दर्शकको क्रेज अद्भूत देखिन्छ । दुवै फिल्मले प्राप्त गरेको शोजमा मध्यान्हबाट शतप्रतिशत अकुपेन्सी छ ।
‘पूजार सार्की’ले पारिवारिक र युवापुस्ता दुवै वर्गका दर्शकलाई हलमा आकर्षिक गरेको देखिन्छ । लौरोको साहरामा वृद्ध-वृद्धादेखि काखमा बच्चा लिएर समेत फिल्म हेर्न पुगेका छन् । फिल्मका तीन अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको क्रेज पनि हलमा गजब देखिएको छ । यसले उनीहरुको स्टारडम एकपटक फेरि प्रमाणित गरेको फिल्म क्षेत्रमा विश्लेषण भइरहेको छ ।

फिल्मले काठमाडौं उपत्यकासहित मोफसलका इटहरी, विर्तामोड, नेपालगञ्ज, विराटनगर, बुटवल, चितवन, दमौली, हेटौंडा, पोखरा लगायतका हलमा शनिबार बिहानैदेखि हाउसफुल व्यापार गरिरहेको जानकारी प्राप्त छ । साँझका कति शोजहरु दिउँसोबाटै हाउसफुल भइसकेका छन् भने कति भरिने क्रममा छन् । फिल्मले शनिबार एक करोडमाथिको व्यापार गर्ने प्रक्षेपण छ ।

आर्यन अस्वस्थ र पल जापान प्रदर्शनमा गएकाले शनिबार प्रदीप दुई अभिनेत्री अञ्जना बराइली र परीक्षा लिम्बूको साथमा काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेका छन् । फिल्म हेरेर दर्शक सन्तुष्ट भएकोमा प्रदीप खुसी देखिए । ‘भोलिका दिनमा ‘पिकअप’ लिन फिल्म आफैंमा बलियो हुनुपर्छ । यो एकदमै बलियो र रुचाइएको फिल्म बन्छ भन्ने विश्वास छ,’ उनले भने ।

आफ्नो भूमिका र अभिनय दर्शकले रुचाएकोमा पनि उनले खुसी व्यक्त गरे । उनी अगाडि भन्छन्, ‘अहिलेसम्म दर्शकले मलाई ‘प्रेम’ भनिरहनुभएको थियो । अब मैते पनि भन्नुहुन्छ भन्ने मलाई विश्वास थियो । त्यही किसिमको प्रतिक्रिया मिलेको छ । स्क्रिनमा मैते आउँदा दर्शकले एकदमै रमाइलो मान्नुभएको छ । फिल्म इन्डस्ट्रीबाट पनि प्रशंसा मिलेको छ । यो मेरो लागि यो खुसीको कुरा हो ।’

यस्तै, ‘फर्की फर्की’ले पनि प्रदर्शनको दिनदेखि उत्साहजनक व्यापार गरिरहँदा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङले काठमाडौंमा विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् । फिल्मप्रति युवापुस्ताको बढी आकर्षण देखिएको छ । शनिबार यो फिल्मको व्यापार पनि एक करोडमाथि हुने आँकलन छ । पहिलो दिन भने दुवै फिल्मको व्यापार ८० लाख आसपास थियो ।

सेयर गर्नुहोस्