तनहुँको पर्यटकीय स्थल बन्दिपूरमा धमाधम ठूला पर्यटकीय पूर्वाधार बनिरहेका छन् । स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षणको केन्द्रका रुपमा विकसित भइरहेको बन्दिपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा निजी क्षेत्रले चासो दिँदै आएको छ । कूल छ अर्ब २९ करोड रुपैयाँ लागतमध्ये विभिन्न संरचना निर्माणमा अहिलेसम्म चार अर्ब ५५ करोड रुपैयाँ लगानी भइसकेको बन्दिपुर केबलकार एण्ड टुरिजम कम्पनीले जनाएको छ ।
बन्दिपुरलाई साहसिक खेल जीपलाइनको हब बनाउन पहल थालिएको भन्दै बन्दिपुर–४ बरालथोकबाट भानु–१ नयाँबस्तीसम्म दुई हजार आठ सय मिटर दूरीमा जीपलाइन निर्माण प्रक्रिया अघि बढाइएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो ।
यस्तै बन्दिपुर–४ को केबलकार चोक नजिक निर्माणधीन एक सय ४० मिटर छोटो दूरीको जीपलाइन निर्माण अन्तिम चरणमा पुगेको छ । यस्तै निर्माणाधीन १७ तलाको पाँचतारे होटल ‘क्वीन टावर’ को झण्डै ९० प्रतिशत भौतिक प्रगति भएको लिमिटेडका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।