कपिलवस्तु — १५ वर्षअघि कारागारबाट सुरुङ खनेर फरार एक जना पक्राउ परेका छन् । भारत उत्तरप्रदेश सिद्धार्थनगर जिल्ला चिल्हिया थाना घर भएका स्कुल मियाँ अन्सारी भनिने मोहम्मद स्कुललाई शिवराज नगरपालिका–७ बाट शुक्रबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख उपरीक्षक नवरत्न पौडेलले बताए ।१५ वर्षअघि सुरुङ खनेर भाग्ने उनलाई डाँका मुद्दामा अदालतले ६ वर्ष ५ महिना ९ दिन कैद र चार लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
उनीसहित ८ जना कैदी ०६६ माघ २ गते कपिलवस्तु कारागारबाट सुरुङ खनेर भागेका थिए । उनीहरूले कोठाभित्रैबाट २१ फिट लामो सुरुङ खनेर कारागारको पूर्वी पर्खालबाट भागेका थिए । फरार कैदीबन्दी पक्राउ गर्ने अभियन अन्तर्गत उनी लुकीछिपी बसेको सूचना पाएपछि योजना बनाएर पक्राउ गरिएको उपरिक्षक पौडेलले बताए । सुरुङ खनेर भागेका ७ जना भने यसअघि नै पक्राउ परेका थिए । ‘सुरङ खनेर भाग्नु जघन्य अपराध हो,’ उनले भने, ‘त्यसैले अन्सारीलाई लामो प्रयासपछि पक्राउ गरियो ।’ उनीहरूले करिब ढाइ फिट गोलाइमा सुरुङ खनेका थिए । रातभरी सुरुङ खनेर उनीहरू बिहान पख भाग्न सफल भएका थिए ।
उपरीक्षकमा पौडेल सरुवा भई आएपछि उनले अभियान चलाएर ९ महिनामा एक सय २६ जना फरार कैदीबन्दी पक्राउ परेका छन् । उनीहरूबाट एक सय ४७ वर्ष कैद सजाय र १६ लाख १३ हजार ५४५ रुपैयाँ जरिवाना भएका असुल्न बाँकी रहेको थियो ।