वासिङ्टन (संयुक्त राज्य अमेरिका), संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफू फेरि राष्ट्रपति बन्ने चुनावी दौडबाट बाहिरिएको घोषणा गर्नुभएको छ ।
उहाँले आफ्नो ठाउँमा डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारका रूपमा उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सार्नुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत महिनाको अन्त्यमा बहस प्रदर्शनपछि चुनावमा आफ्नो व्यFवहारिकताको बारेमा बढ्दो सङ्ख्यामा डेमाक्र्याटहरूले चिन्ता व्यक्त गरेपछि राष्ट्रपतिको दौडबाट बाहिरिने घोषणा गर्नुभएको छ ।
“मेरो उम्मेदवारी पुनः निर्वाचित हुने भए तापनि, मेरो बाँकी कार्यकालका लागि राष्ट्रपतिको रूपमा मेरो कर्तव्य पूरा गर्न मात्र ध्यान केन्द्रित गर्नु मेरो पार्टी र देशको हितमा छ भन्ने मलाई विश्वास छ, सामाजिक सञ्जाल एक्समा उहाँले भन्नुभयो ।उहाँले आफ्नो निर्णयको बारेमा विस्तृत रूपमा यस हप्ताको अन्त्यमा राख्ने बताउनुभयो ।अर्को पोस्टमा, उहाँले भन्नुभएको छ, “यस वर्ष डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवारका रुपमा उपराष्ट्रपति कमला ह्यारिसलाई आफ्नो पूर्ण समर्थन र प्रस्ताव गर्न चाहेको बताउनुभयो । डेमोक्र्याटहरू एकजुट भएर ट्रम्पलाई हराउने समय हो । यो गरौं ।”वर्तमान अमेरिकी राष्ट्रपति र सम्भावित उम्मेदवार यसअघि चुनाव प्रक्रियामा यति ढिलो दौडबाट बाहिरिएका छैनन् । हाल ८१ वर्षका बाइडनले एक लिखित विज्ञप्ति जारी गर्दै आइतवार राती आफ्नो दल र देशको हितका लागि आफूले पुनः राष्ट्रपतिको उम्मेदवार बन्ने योजनालाई अन्त्य गरेको बताउनुभएको हो ।
उहाँले राष्ट्रपतिका रूपमा काम गर्ने अवसरलाई आफूले ‘ठूलो सम्मानको रूपमा लिएको’ र सन् २०२५ जनवरीसम्म रहने आफ्नो कार्यकाल पूरा गर्ने पनि विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।अब अमेरिकी राष्ट्रपतिमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उपराष्ट्रपति ह्यारिस र रिपब्लिकन पार्टीको तर्फबाट अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबिच प्रतिस्पर्धा हुने सम्भावना छ ।यद्यपि, डेमोक्र्याटिक पार्टीको अगस्टमा हुने राष्ट्रिय सम्मेलनबाट राष्ट्रपतिको उम्मेदवार चयन गरिने कार्यतालिका छ ।
गत जुन २७ मा भएको राष्ट्रपतीय निर्वाचनको बहसमा फितलो प्रस्तुति भएको भन्दै डेमोक्र्याटहरूबाटै उहाँको आलोचना भएको थियो ।उपराष्ट्रपति ह्यारिसले आफूलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा मनोनीत हुन पाउँदा सम्मानित महसुस भएको बताउनुभएको छ । उहाँले आफूले ट्रम्पविरुद्ध ‘देशलाई एकताबद्ध गर्ने’ पनि बताउनुभयो ।







