काठमाण्डौं, ८ साउन । स्वास्थ्य मन्त्रालयले मुलुकभर सञ्चालनमा रहेका एम्बुलेन्सका रङ, साइरन र अन्य संकेतहरुमा एकरुपता ल्याउन निर्देशन दिएको छ । मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ को दफा १५ ले निर्देशित गरेको मापदण्ड अनुसार एकरुपता नआएको भन्दै यस्तो निर्देशन दिएको हो ।
मन्त्रालयले सातै प्रदेशको प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति र ७७ वटै जिल्लाका एम्बुलेन्स व्यवस्थापन समितिलाई पत्राचार गर्दै निर्देशिका बमोजिम मापदण्ड पालना गर्न भनेको हो । मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ले तोकेको मापदण्ड पूरा नगरेमा एम्बुलेन्स सञ्चालन अनुमति नवीकरण समेत नगर्ने जनाएको छ ।
मापदण्डमा एम्बुलेन्स पहिचान हुने साइरन, रातो लामो रङको संकेत बत्ती जडान भएको, एम्बुलेन्सको बर्गीकरण खुल्ने गरी वर्ग उल्लेख भएको, एम्बुलेन्सको चालकको पछाडी पट्टि कुनै पनि सिट नराखिएको, नेपाल सरकारबाट राजस्व छुट प्राप्त गरेको भनी स्पष्ट देखिने गरी लेखिएको, जीपीएस अनिवार्य जडान गरिएको हुनुपर्ने लगायत तोकिएको छ ।