काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन प्रक्रियालाई सहज बनाउनका लागि साझा प्रयत्न आवश्यक रहेको बताएका छन्।
बुधबार काठमाडौंमा दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्चको १२ औं सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बिभिन्न चुनौतीबीच देश-विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउनका लागि साझा प्रयत्न आवश्यक रहेको बताएका हुन्।
प्रधानमन्त्री ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकांक्षालाई प्रतिबिम्बन गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको जिकिर गरे।
हिमालहरु पग्लिने, समुद्रको तापक्रम बढेर जलवायु परिवर्तनमा पार्ने प्रतिकूल असरका क्रमसँगै मानव जीवनमा आउने चुनौतीका बीच लोकतन्त्रको अभिन्न अंगका रुपमा रहेको निर्वाचन प्रक्रियालाई अगाडि बढाउनु साझा दायित्व भएको उनको भनाइ छ।
प्रधानमन्त्री ओलीले विगतका निर्वाचन व्यवस्थानका कमजोरीबाट सिक्दै लोकतान्त्रिक मूल्य, मान्यताका साथ स्वच्छ, स्वतन्त्र, जवाफदेही र पारदर्शी निर्वाचनको दायित्व पूरा गर्न सकेमा आम जननाको मताधिकारको सम्मान हुने पनि उल्लेख गरे।
सम्मेलनमा निर्वाचनका जल्दाबल्दा मुद्दा: जलवायु परिवर्तन, सामाजिक सञ्जाल र बसार्ईँसराई बिषयमा केन्द्रित भई छलफल हुने बताइएको छ। सो अवसरमा मञ्चका अध्यक्ष भूटानका निर्वाचन आयोगका प्रमुख आयुक्त दासो सोनाम तोब्गेले नेपालको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई नेतृत्व हस्तान्तरण गरे।
सम्मेलनमा नेपालका साथै भारत, भूटान, श्रीलङ्का, माल्दिभ्सलगायत मुलुकका प्रमुख निर्वाचन आयुक्त र प्रतिनिधि सहभागी छन्।