झ्याप्ले खोलामा पुरिएका सवारीसाधनबाट १४ शव निकालिए

काठमाडौं– काठमाडौ‌ं र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका सवारीसाधनबाट १४ जनाको शव निकालिएको छ।

प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट तथा नम्बर नखुलेको बसबाट ती शवहरु निकालिएका हुन्।

“कुन सवारीसाधनबाट कति जनाको शव निकालेको भन्ने यकिन जानकारी हुन सकेको छैन”, उनले भने, “पहिरोबाट तीनवटा सवारीसाधन पुरिएका छन्।” पहिरोमा फसेका यात्रु र सवारीसाधनको उद्धार कार्य जारी रहेको प्रजिअ पाण्डेले  जानकारी दिए।

सशस्त्र प्रहरीका अनुसार माइक्रोबसबाट पाँच शव निकालिएको छ। अल्फाबेट, नम्बर केही नखुलेको बसबाट नौ गरी १४ जनाको शव निकालिएको हो।

गाडीमा बुटवल सुख्खानगरका ३ जना, कालिक नगरका ३ जना, देवीनगरको ३ जना यात्रु चढेको प्रालिले जनाएको छ। अन्य यात्रु कुन ठाउँका हुन भन्ने खुलेको छैन।

बुटवलबाट १२ जना र बिच बाटोबाट एक जना गाडीमा चढेको बताइएको छ। सो गाडी शुक्रबार राती देखि  नै पहिरोमा परी बेपत्ता भएपनि शनिबार दिउँसो अबेर मात्रै सुरक्षा कर्मीहरुको टोली घटना स्थल पुगेको बताइएको छ।

शुक्रबार बिहान ८ बजे बुटवलबाट छुटेको गाडी अविरल वर्षाले झरेको पहिरो र निर्माणाधीन बुटवल–नारायणघाट सडकको दुरावस्थाका कारण ठाँउ-ठाँउमा जाममा फस्दा ढिलो भएको प्रालिले जनाएको छ।

एउटा हायस र भारतीय नम्बरप्लेटको मालवाहक ट्रक पनि पहिरोबाट निकालिएको छ। दुई जेसीबीको सहायतामा पहिरो पन्छाउने कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।

सेयर गर्नुहोस्