झ्याप्ले खोलामा दुई पहिरो बीचमा जिन्दगी

हामी पर–परका सशस्त्र युद्धको विरोध गर्छौं । तर, आफ्नै आँखा अगाडि बेथितिले निम्त्याएको नरसंहारलाई सामान्य ठान्छौं ।गत वर्ष भूूकम्पले तहसनहस भएको जाजरकोट र रुकुमपश्चिमले अझै उद्धार पाएको छैन । अस्थायी टहरो बनाउन राज्यले दिएको वचन अनुसारको दोस्रो किस्ता पीडितले अझै पाएका छैनन्, स्थायी बासको त कल्पनै नगरौं ।

भूकम्पले तहसनहस बनाएका घर र आफन्त गुमाएका अनुहार उस्तै उदास र विचल्लीमा छन् । ढाड भाँचिएका घाइतेले सही उपचार पाएका छैनन् । जीर्ण टहरोमा जाडो काटे । यसपालिको बर्खा टरेकै छैन । उही टहरोमा दशैं आयो ।

बालुवाटार, सिंहदरबार र संसद् भवनलाई हेर्नुस् नागरिकको यो भयानक पीडा कहाँनिर महसुस छ ? तीन तहको सरकार सहकार्य गर्दैन । बरु सरकार दशैंका लागि च्याङ्ग्राको बन्दोबस्त गर्दै होला !

रुकुमपश्चिम छिन्मखेतकी भीमाकुमारीको आन्द्रामा घाउ छ । भूकम्पमा श्रीमान् बिते । टिनको टहरोमा उनी ४ सन्तान सहित गुजारा गर्दैछिन् । गाउँमा गरिबीका कथा अनगिन्ती छन् ।

शासकहरूलाई देश समृद्धितिर लम्किरहे झैं लाग्छ । हामीलाई युद्ध प्यालेस्टाइन र इजरायल वा युक्रेन र रसियातिर भए जस्तो लाग्छ । आम नागरिक भने चरम शान्तिले थिचिएर निसास्सिएका छन् ।

सेयर गर्नुहोस्