बक्स अफिसमा आक्रामक ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’, व्यापारमा ‘ज्वाइँ साब’ पनि राम्रो

दशैंको समय फिल्म रिलिजका लागि सबैभन्दा उपयुक्त मानिन्छ । लामो विदा र ‘फेस्टिभ मुड’ हुने भएकाले यो चाडमा सबैजसो उमेरका मानिसका लागि मनोरञ्जन पहिलो प्राथमिकतामा पर्छ । यसैले दशैंमा फिल्म लगाउँदा बढी व्यापार हुन्छ भन्ने विश्वास निर्मातामा देखिन्छ । यसपालिको दशैंको फूलपातीमा आएका तीन नेपाली फिल्म ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले दशैं विदाको महत्त्व अझ बढाएका छन् ।

यो त्रिपक्षीय भिडन्तले तीनवटै फिल्मको व्यापारमा ठूलो असर गर्ने प्रक्षेपण गरिएको थियो । धेरथोर गरेको पनि छ । तथापि, तीनवटै फिल्मप्रति दर्शकको आकर्षण राम्रो देखिएको छ । अझ ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’को क्रेज अद्भूत छ । प्रदर्शनको दिनदेखि दुवै फिल्मले आक्रामक व्यापार गरिरहेका छन् । बक्स अफिसमा यिनै दुई फिल्मबीच टक्करको प्रतिस्पर्धा भइरहेको छ ।

नामै ब्रान्ड भएकाले ‘छक्का पञ्जा ५’प्रति दर्शक आकर्षित हुनु अस्वभाविक होइन । यसका अघिल्ला चार श्रृंखलाले पनि बक्स अफिसमा ठूलो अंक जोडेका थिए । तर, ‘१२ गाउँ’को व्यापारले भने फिल्म क्षेत्रलाई नै ‘सरप्राइज’ दिएको छ । त्यसो त रिलिजपूर्व नै फिल्मको ठूलो ‘हाइप’ थियो । जताततै ‘१२ गाउँ’को मात्र नाम देखिन्थ्यो । धेरैले यसलाई ‘साइबर सेना’को संज्ञा दिएका थिए । तर, हलमा पनि फिल्मको ठूलो क्रेज देखिएको छ । यसले एक्सन फिल्मप्रति दर्शकको रुचि दर्शाउँछ ।

‘१२ गाउँ’ले प्रदर्शनको दिनदेखि देशभर प्राप्त अधिकांश सोजमा उच्च अकुपेन्सी कायम गरेको छ । पाँचौं दिनसम्म आइपुग्दा पनि अकुपेन्सी उतिक्कै बलियो छ । सिंगल थिएटर होस् वा मल्टीप्लेक्स, जताततै फिल्मले ठूलो मात्रामा दर्शक भित्राएको छ । सम्भवतः एक दशकपछि एक्सन फिल्म हेर्न हलमा यो किसिमको दर्शक देखिएका हुन् । फिल्मले हरेक दिन एक करोड हाराहारीको व्यापार गर्दै आइरहेको छ ।

‘१२ गाउँ’ले प्रदर्शनको पाँच दिनमै लगानी सुरक्षित गरिसकेको जनाइएको छ । यो फिल्मले अभिनेता विराज भट्टको गुमेको ‘स्टारडम’ फर्काएको छ भने यसैबाट डेब्यु गरेका विराजका छोरा समीर भट्ट ‘स्टार’को रुपमा उदाएका छन् । फिल्म हेर्ने अधिकांशले समीरकै बढी प्रशंसा गरेका छन् । उनको एक्सन र नृत्य बढी रुचाइएको छ । तथापि, फिल्मलाई मिश्रित प्रतिक्रिया प्राप्त छ ।

फूलपातीका तीन फिल्ममध्ये व्यापारमा भने सबैभन्दा अगाडि ‘छक्का पञ्जा ५’ नै छ । पारिवारिक दर्शकको बलियो साथ मिलेको फिल्मले प्रदर्शनको दिनदेखि आक्रामक व्यापारलाई कायम राखेको छ । चार दिनमा ६ करोडमाथिको व्यापार गरिसकेको फिल्मले दशैं विदासम्ममा १० करोडको आँकडा नघाउने आँकलन गरिएको छ । फिल्मले देशभर प्राप्त अधिकांश सोजलाई सजिलै अकुपेन्सीमा बदलेको छ ।

तुलनात्मक रुपमा व्यापारमा ‘ज्वाइँ साब’ भने केही कमजोर देखिन्छ । तर, निराशाजनक छैन । काठमाडौं, नेपालगञ्ज, इटहरी जस्ता सहरका मल्टीप्लेक्सहरुमा फिल्मले प्राप्त गरेका सोजमा सुखद् अकुपेन्सी देखिएको छ । निर्देशक बसन्त निरौलाले फिल्मको हरेक दिन अकुपेन्सी वृद्धि भइरहेको दाबी गरे । भन्छन्, ‘पहिलो दिन ३० प्रतिशत मात्र अकुपेन्सी थियो । तर, तेस्रो दिनदेखि ८० प्रतिशतसम्म अकुपेन्सी छ । धेरै हलले सोज पनि थपेका छन् । फिल्म राम्रो भएपछि दर्शक र सोज थपिन्छ भन्ने यो उदाहरण हो ।’

फिल्म हेर्ने अधिकांशले अभिनेता जितु नेपालको कामको तारिफ गरेका छन् । अभिनेत्री नीति शाह र कलाकार हिमेश पन्तको अभिनयलाई पनि रुचाइएको छ । फिल्मको कमेडी पाटो र बेहुलीको घरमा बेहुला भित्रिने रोचक कथावस्तुलाई दर्शकले मन पराएका छन् । ‘वर्ड अफ माउथ’ बलियो भएकाले फिल्मले हलमा लामो यात्रा गर्ने निर्देशक निरौलाको विश्वास छ ।

सेयर गर्नुहोस्