रत्ननगर
इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा शनिबार बिहान एक जना थुनुवाले आत्महत्या गरेका छन् ।
हिरासत कक्षभित्र रहेको शौचालयमा सलको पासो लगाएर भारत घर भई रत्ननगर वडा नं १३ मा व्यवसाय गर्दै आएका ४५ वर्षीय मोहम्मद क्यामोदिन (पट्टेल)ले आत्महत्या गरेका हुन् । घटना शनिबार बिहान ४ः३० बजे भएको हो ।
स्थानीय एक महिलाको अश्लील भिडियो बनाएर ब्ल्याक मेलिङ गर्दै आएका क्यामोदिनलाई साइबर अपराध मुद्दामा कात्तिक १ गते पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख भावेश रिमालले जानकारी दिए । क्यामोदिनबाट पीडित बनेकी महिलाले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
शौचालयमा सलको पासो लगाएका उनलाई तत्काल अस्पताल लगिएको र बिहान ६ः०० बजे डाक्टरले मृत घोषणा गरेका थिए । साइकल मर्मत केन्द्र सञ्चालन गर्दै आएका उनी लामो समयदेखि आपराधिक क्रियाकलपमा संलग्न रहदै आएको बुझिएको छ ।
जाहेरीमा ती महिलाले पटकपटक गरेर क्यामोदिनलाई २५ लाख रुपैयाँ बुझाएको उल्लेख गरेको प्रहरी प्रमुख रिमालले बताए । विगत पाँच वर्षदेखि क्यामोदिनले ती महिला र उनको परिवारलाई समेत दुःख दिँदै आएको प्रहरीले जनाएको छ ।