माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, उपमहासचिव जनार्दन शर्मागायतका नेताहरू किन चितवन पुगे?

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्मालगायतका नेताहरू चितवन पुगेका छन् ।

उनीहरूलाई शनिबार बिहान भरतपुर विमानस्थलमा कार्यकर्ता एवं शुभेच्छुकहरूले स्वागत गरेका थिए । बेपत्ता योद्धा दण्डपाणि न्यौपाने र अन्य शहीदहरूको सम्मानमा भरतपुर–१३ मा आयोजित जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न नेताहरू चितवन पुगेका हुन् ।

न्यौपाने र अन्य शहीदहरूको सम्मानका लागि नेकपा माओवादी केन्द्र वडा नं १३ भरतपुरले विशाल जनसांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमका लागि प्रचण्ड ,क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्य(किरण),नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द(विप्लव)लाई निम्ता गरिएको छ ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका डा।बाबुराम भट्टराई पनि निम्ता गरिएको कार्यक्रमका संयोजक प्रकाश दवाडीले जानकारी दिए । विभाजित भएका माओवादीका पुराना नेताहरूलाई आयोजकले एउटै मञ्चमा उभ्याउने प्रयास गदै एकताका लागि प्रयास गर्ने दवाडीको भनाइ छ ।

दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको खुल्ला प्राङ्गणमा हुने जनसांस्कृतिक कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासंघ र सामना परिवारको विशेष प्रस्तुति रहने कार्यक्रम छ ।

जनयुद्धको समयमा एकताबद्ध भएर लडेका नेताहरू विभिन्न समयमा पार्टी विभाजन भई अलग अलग समूहको नेतृत्व गरिरहेको भएपनि आगामी दिनमा एउटै छातामुनी ल्याउने प्रयास आयोजकले गरेको स्थानीयको बुझाइ छ ।

सेयर गर्नुहोस्