पार्टीको स्पष्टीकरणमा भीम रावल भन्छन् : गलत क्रियाकलाप ढाकछोप गर्न कमजोर पर्दा लगाएजस्तो

५ कात्तिक, काठमाडौं

नेकपा एमालेका नेता डा. भीम रावलले पार्टीबाट आफूलाई सोधिएको स्पष्टीकरण गलत क्रियाकलापहरू ढाकछोप गर्न कमजोर पर्दा लगाएजस्तो भएको टिप्पणी गरेका छन् ।सोमबार अनलाइनखबरसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । ‘प्रथम दृष्टिमा नै उहाँहरूको गलत क्रियाकलाप ढाकछोप गर्ने कमजोर पर्दा जस्तो लागेको छ । थप कुरा आएपछि हेरौँला,’ रावलले भने ।

एमालेको आइतबार साँझ बसेको सचिवालय बैठकले पार्टीको नीतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै रावलसहित स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उक्त निर्णयबारे आफूलाई अहिलेसम्म औपचारिक जानकारी नआएको रावलले बताए । उनले स्पष्टीकरणमा कस्तो भाषा र शब्द प्रयोग भएको छ भन्ने थाहा नभइ अन्य प्रतिक्रिया नदिने पनि बताए ।

रावलले व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गामा पार्टी कार्यालय बनाउनु गम्भीर विचलन भएको टिप्पणी गरेका थिए । गत असोज २५ गते प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यवसायी मीनबहादुर गुरुङले दान दिएको भनिएको जग्गामा पार्टी कार्यालय शिलान्यास गरेका थिए ।

उक्त निर्णयप्रति एमालेकै नेताहरूबाट विरोधको स्वर सुनिएपछि अध्यक्ष ओलीले आपत्ती जनाएका थिए । उनले पार्टीभित्रै नेताहरूमा अनुशासन कम हुँदै गएको र पार्टी निर्णयविरुद्ध बोल्नेलाई स्पष्टीकरण सोध्नुपर्ने प्रस्ताव आफैँ राखेका थिए ।

पार्टीले जग्गा दान लिने विषयलाई स्थायी कमिटी सदस्य पाण्डेले पार्टी सदस्यको शिर झुकाउने काम भएको टिप्पणी गरेकी थिइन् ।

सेयर गर्नुहोस्