माओवादीको आरोपः सरकारको सय दिन भ्रष्टाचारीको संरक्षण गरेर बित्यो

काठमाडौँ

नेकपा (माओवादी केन्द्र)ले सरकारको एक सय दिन भ्रष्टाचारीको संरक्षण र सुशासनमाथि निरन्तर प्रहार गरेर बितेको आरोप लगाएको छ।माओवादीले बिहीबार पत्रकार सम्मेलन गरेर जनता र देशको अधिकतम हितमा केन्द्रित हुनुपर्ने समयमा सरकार बेलगाम बनेको हुँदा कार्तिक १० गते काठमाडौँमा खबरदारीसभा गर्न लागेको जनाएको छ।

‘सरकारको सय दिन भ्रष्टचारीको संरक्षण र सुशासनमाथि निरन्तर प्रहार गरेर बितेको छ। त्यसैले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवाल झनझन गम्भीर र संवेदनशील भएका छन्। जनता र देशको अधिकतम हितमा केन्द्रित हुनुपर्ने समयमा बेलागाम बनेको सरकारलाई जनउत्तरदायी बनाउन प्रतिपक्षको हैसियतले खबरदारी गर्न कार्तिक १० गते खबरदारीसभा गर्ने निर्णय गरिएको छ,’ माओवादीका प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले भने।

कांग्रेस–एमालेको सरकार बिचौलियाले बनाएको हो भन्ने कुरा सरकारको जनविरोधी र सुशासनविरोधि क्रियाकलापले पुष्टि गरेको उनको भनाइ छ। सरकारका तर्फबाट भ्रष्टाचारीहरू जोगाउन तथा बिचौलियाहरूको पक्षमा एकपछि अर्को निर्णय गर्दै जाने घटनाक्रमको निरन्तरताले सरकारको उद्देश्य जनतालाई प्रभावकारी सेवा प्रदान गर्ने नभई निहित स्वार्थ समूहको हीत रक्षा गर्ने रहेको कुरा प्रष्ट भएको माओवादीको आरोप छ।

माओवादीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’यी सय दिनमा यो सिलसिला कहाँसम्म पुग्यो भने विशेष अदालतबाट ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर भएको र प्रधानमन्त्री मातहत रहेको सम्पत्ति शुद्धिकरण विभागले छानबिन गरिरहेको व्यापारीबाट प्रधानमन्त्रीकै दलको भवन बनाउन अबको जग्गा सम्पूर्ण मूल्यमान्यता लत्याएर कानुनको उपहास गर्दै चन्दा लिइएको छ।’

सेयर गर्नुहोस्