काठमाडौँ, १५ मङ्सिरः
अमेरिकी राष्ट्रपति चुनावमा निर्वाचित डाेनाल्ड ट्रम्प र संसारका सबैभन्दा धनी व्यक्ति एलन मस्कको बढ्दो मित्रताबारे धेरै लेखिएको छ। पहिले अनौठो देखिएको यो जोडीको सम्बन्ध अहिले आएर मित्रतामा मात्रै बदलिएको छैन, मस्कका लागि नयाँ अवसरमा परिणत भएको छ। केही साताअघि दुवैलाई फ्लोरिडाको पाम बिच, न्युयोर्कमा आयोजित अल्टिमेट फाइटिङ प्रतियोगिताको रिङसाइडमा र एउटा जेटमा म्याकडोनल्ड्स खाँदै गरेको देखिएको थियो।
एलन मस्कलाई अमेरिकाको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसेन्सी (डीओजीई) प्रमुख बनाउने निर्णयपछि अनेक प्रश्न उठ्न थालेका छन्। मस्क संसारका सबैभन्दा धनी व्यक्ति हुन्। आफ्नो निजी क्षेत्रका कम्पनीमार्फत उनले अर्बौँ डलर नाफा कमाउँदै आएका छन।
पहिलो प्रश्न हो, अब उनले विश्व शक्तिराष्ट्र अमेरिकाको सरकारी खर्च कटौतीको पहलको नेतृत्व गर्दै आफ्नो व्यक्तिगत र व्यावसायिक स्वार्थलाई त्याग्न सक्नेछन्?
मस्कको सार्वजनिक छवि र व्यापारिक दृष्टिकोण हेर्दा यो प्रश्न स्वाभाविक छ किनभने उनको निजी र व्यावसायिक लाभले सरकारी खर्च नियन्त्रण गर्ने नीतिलाई पक्कै प्रभावित पार्न सक्छ। उदाहरणका लागि मस्कका कम्पनी स्पेसएक्स र टेस्ला। यी कम्पनीले सरकारी सब्सिडीबाट निकै लाभ लिएका छन्। त्यसैले मस्कको निष्पक्षतामा शंका उत्पन्न भएको हो।
चुनावअघि ट्रम्पले अमेरिकी कम्पनी टेस्लाका सीईओ मस्कलाई (डीओजीई) को प्रमुख बनाउने घोषणा गरेका थिए। अमेरिकी सरकारको यो एक नयाँ निकाय हो। त्यसको कार्यक्षेत्र र अधिकारबारे कसैलाई पनि थाहा छैन। यद्यपि यो एउटा सानो सल्लाहकार समूह हुने सम्भावना छ, जुन न त सरकारी संयन्त्र हुनेछ, न त कुनै वास्तविक नियामक निकाय। तर मस्कका कारण यसको प्रभाव अवश्य बढी देखिनेछ। ट्रम्पले पनि यो समूहको सुझावलाई महत्त्व दिनेछन्।
डीओजीईको लक्ष्य सरकारी बजेट र खर्च घटाउनु हो। यो निकाय अमेरिकी बजेटमा २० खर्ब डलर कटौती गर्न चाहन्छ। यसका लागि ट्रम्प नेतृत्वको आगामी सरकार केन्द्र सरकारको आकारलाई स्थायी रूपमा सानो बनाउन, अनावश्यक खर्च, नियमकानुन र कर्मचारी संख्या कटौती गर्ने योजनामा छ।
मस्क पनि आफ्नो व्यापारमा खर्च घटाउने कामका लागि परिचित छन्। यहाँ ट्रम्प र मस्कको कार्यशैलीमा समनता देखिए पनि अमेरिकी सरकारको खर्च घटाउन भने सजिलो छैन। खर्च घटाउने कार्य सन् २०२६ सम्म सम्म पूरा गर्ने लक्ष्य लिइएको छ।
मिसिगन विश्वविद्यालयका फोर्ड स्कुल अफ पब्लिक पोलिसीका प्राध्यापक डोनल्ड मोयनेहेनका अनुसार मस्कलाई सरकारसँग काम गरेको खासै अनुभव छैन। उनी त सरकारविरुद्ध मुद्दा लड्नमा व्यस्त रहँदै आएका व्यक्ति हुन्। सरकारबारे भ्रामक खबर फैलाउन सक्रिय रहने विगत छ उनको।
मोयनेहनले भने, ‘संघीय सरकारलाई आधुनिक बन्न आवश्यक छ तर मस्कले खर्च घटाउने र विरोधी व्यक्तिहरूलाई सजाय दिने कुरा मात्रै गरेका छन्। त्यसैले यहाँ गडबड छ।’
अमेरिकाको सन् २०२३ को बजेट ६१ खर्ब डलर थियो। यसको एकतिहाई हिस्सा सामाजिक सुरक्षा र स्वास्थ्य सेवामा खर्च गरियो। ट्रम्पले यी क्षेत्रहरूमा रकम कटौती नगरिने बताइसकेका छन्।
स्पेसएक्स र स्वार्थको टकराव
मस्क टेस्ला, स्पेसएक्स, सामाजिक मिडिया प्लेटफर्म एक्स जस्ता छ वटा कम्पनी सञ्चालन गर्दै आएका छन्। यस अवस्थामा नयाँ पद सम्हाल्दा स्वार्थको द्वन्द्व सिर्जना हुन सक्छ। विशेषगरी जब उनका धेरै कम्पनीले सीधै सरकारी ठेका लिन्छन्, त्यसपछि ती कम्पनी सरकारी ठेकदार बन्नेछन्। यी कम्पनीले यस्ता नयाँ खोज र प्रविधि पनि विकास र प्रयोग गर्छन् जसले नियमकानुनको सीमा पार गर्छ।
पछिल्ला केही वर्षमा स्पेसएक्सले नासा र रक्षा विभागबाट अर्बौँ डलरको ठेका पाएको छ। यी ठेकामा उपग्रह प्रक्षेपण गर्ने, अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन विस्तार र स्टारलिंक स्याटेलाइट कम्युनिकेसन नेटवर्कको प्रयोगलगायतका काम समावेश छन्।
न्युयोर्क टाइम्सका अनुसार विगत दशकमै स्पेसएक्सले नासा र रक्षा विभागबाट १५ अर्ब डलरभन्दा बढीको ठेका पाएको छ। गत वर्ष मस्कका कम्पनीले १७ सरकारी एजेन्सीसँग तीन अर्ब डलरको एक सय छुट्टाछुट्टै सम्झौतामा हस्ताक्षर गरेका थिए।
अमेरिकी सरकारी निकाय र अन्य नियामकहरूसँग मस्क विवादित रहँदै आएका छन्। सन् २०१८ मा अमेरिकी वित्तीय बजार नियामक सेक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) ले उनीमाथि सेयर बजारसँग सम्बन्धित धोखाधडीको आरोप लगाएको थियो। पछि सम्झौता गर्नका लागि उनले टेस्ला अध्यक्षको पदबाट राजीनामा दिनुपरेको थियो।
टेस्लाले धेरै राज्यमा करमा निकै सहुलियत र अन्य प्रोत्साहन पाउँदै आएको छ। केन्द्र सरकारबाट पनि टेस्लालाई केही गाडी आपूर्ति गर्ने ठेका प्राप्त भएको छ। यद्यपि मस्कले ट्रम्पलाई विद्युतीय गाडीका लागि कर जारी राख्न र मेक्सिको वा अन्यत्र गाडी उत्पादन गर्ने प्रतिस्पर्धी कम्पनीलाई कर वृद्धि गर्न मनाउन सक्छन्।
मस्क ती नियामकलाई प्रभावित गर्न सक्छन् जसले टेस्लाको स्वचालित प्रविधिमा नजिकबाट निगरानी राख्न चाहन्छ।
मस्कका अन्य कम्पनीहरू जस्तै एक्सएआई, द बोरिङ कम्पनी, न्युरालिंक र एक्ससँग कुनै सरकारी अनुबन्ध छैन। तर यी कम्पनीलाई ट्रम्पसँग मस्क निटक हुँदा ठूलो फाइदा हुन सक्छ। यस निकटताले कृत्रिम बौद्धिकता (एआई) लाई प्रवर्द्धन गर्न सक्छ। अन्य नियम प्रभावित हुन सक्छन् वा सामाजिक सञ्जाल प्रतिद्वन्द्वी टिकटकमाथि प्रतिबन्ध लगाउन मद्दत गर्न सक्छ।
ट्रम्प-मस्कको मित्रता समाप्त भएमा के हुनेछ?
अमेरिकामा खर्च घटाउन या विशेषज्ञहरूको मद्दत लिन चाहनेमा ट्रम्प पहिलो राष्ट्रपति होइनन्। यसपटकको प्रश्न राष्ट्रपतिले कस्ता व्यक्तिलाई विशेषाधिकार दिएका छन् र ती व्यक्तिको व्यक्तिगत लाभको सम्भावना के हुन सक्छ भन्ने चासो सबैतिर छ।
ट्रम्पले भनेका छन्, ‘मस्क सरकारको कार्यकारी निकायको आधिकारिक हिस्सा हुने छैनन्। सरकारलाई बाहिरबाट सल्लाह र मार्गदर्शन मात्रै दिनेछन्।’
साथै मस्कले ह्वाइट हाउस र बजेट कार्यालयसँग मिलेर ठूलो संरचनात्मक सुधार अघि बढाउन काम गर्ने ट्रम्पको भनाइ छ। यहाँ महत्वपूर्ण विषय के छ भने अमेरिकी कानुनअनुसार जो व्यक्ति ती सरकारी मामिलामा भाग लिन सक्दैनन् त्यसमा उनीहरूको आर्थिक स्वार्थ लुकेको हुन्छ।
सम्बन्धका मामिलामा ट्रम्प निर्विवाद छैनन्। उनको विगत पनि त्यस्तै छ। कोही मानिससँग ज्यादै निकट भएर काम गर्ने अनि चटक्कै छाडिदिने। त्यसैले यस्तो दिन पनि आउन सक्छ, ट्रम्प विश्वका सबैभन्दा धनाढ्य व्यक्तिको साथलाई छाडिदिएका हुनेछन्।
मोयनेहेनले भने, ‘उनीहरू दुवै ठूला व्यक्तित्व हुन् जसलाई सार्वजनिक चासोमा रहन मनपर्छ। तर ट्रम्पलाई अरू कुनै व्यक्ति आफूभन्दा अगाडि बढेको मन पर्दैन।’ उनीहरूको सम्बन्ध कायम राख्न ट्रिलियन डलरको कटौती जति कठिन हुन सक्ने उनको बुझाइ छ।