२ बजेसम्म ५० प्रतिशत भन्दा बढी मत खस्यो

काठमाडौँ ।

मतदानको समय ३ घण्टामात्र बाँकी रहँदा स्थानीय तह उपनिर्वाचन अन्तर्गत दिउँसो २ बजेसम्म समग्रमा ५० प्रतिशत भन्दा बढी मत खसेको छ ।  आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान दिउँसो २ बजेसम्म समग्रमा ५० प्रतिशत बढी मतदान सम्पन्न भएको हो ।निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेलका अनुसार मतदान सुरु भएको ७ घण्टाको अवधिमा ५० प्रतिशत बढी मत खसेको जानकारी दिइन् ।

निर्वाचन आयोगका अनुसार सबै स्थानमा मतदाताहरू उत्साहजनक रूपमा सहभागी भइरहेका छन् र अहिलेसम्म सबै स्थानमा शान्तिपूर्ण ढङ्गले मतदान पनि भइरहेको छ।

आयोगले मतदानको रेसियो हेर्दा ६० प्रतिशत बढी मत खस्ने अनुमान गरेको छ । यो उपनिर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाताले मताधिकार प्रयोग गर्दैछन् ।  नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको छ । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् । उपनिर्वाचनका लागि १६२ मतदानस्थल र २९३ मतदान केन्द्र तोकिएको छ ।

सेयर गर्नुहोस्