‘पुष्पा २’ का कारण ‘पूर्णबहादुरको सारंगी’को शोमा भारी कटौती

विजय बराल अभिनीत फिल्म ‘पूर्णबहादुरको सारंगी’ ले एक महिनाको यात्रा पार गरिसकेको छ। यस फिल्मले नेपालमा ५० करोडको व्यापार गर्दा विदेशमा २५ करोड कमाइ गरेको छ।

यस फिल्मले प्रदर्शनको पाँचौं सातासम्म पनि हलहरुबाट राम्रो शो पाएको छ। आज पनि देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले उपत्यकाभरि २७ शो उपलब्ध गराएको छ।

त्यसैगरी बिग मुभिजले ५, वान सिनेमाजले ७ र एफक्युब सिनेमाजले ५ शो दिएको छ। त्यसैगरि, ‘ह्रस्व दीर्घ’ र ‘तेल भिसा’ लाई पनि हलहरुले राम्रै शो उपलब्ध गराएका छन्।

तर, बिहीबारदेखि भने नेपाली फिल्मको शोमा भारी गिरावट आएको छ। भोलि दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ लाई ५९१ शो दिँदा नेपाली फिल्महरुको भने शो ह्वातै घटेको हो।

क्यूएफएक्स उपत्यकाभरिका हलमा ‘पूर्णबहादुरको सारंगी’ को शो खुम्चिएर १० मा झरेको छ। त्यसैगरि, वान सिनेमाजदेखि बिग मुभिज र एफ क्युब सिनेमाजले एक शो मात्रै उपलब्ध गराएका छन्। अझ ‘ह्रस्व दीर्घ’ र ‘तेल भिसा’ एउटा शो उत्रारिएको छ। जसकारण मंसीर २० गतेबाट ‘पूर्णबहादुरको सारंगी’ सहितका नेपाली फिल्मको व्यापारमा निकै असर पर्ने देखिन्छ।

१७ डिसेम्बर सन् २०२१ मा रिलिज भएको पहिलो पार्ट ‘पुष्पास् द राइज’ निकै सफल भएको थियो। जसकारण यस सिक्वेललाई फिल्मलाई हेर्न दर्शक निकै आतुर छन्। नेपालमा यस फिल्मको क्रेज व्यापक देखिएको छ।

देशकै ठूलो मल्टिप्लेक्स हल क्यूएफएक्सले उपत्यकामा मात्रै पहिलो दिनमा ८१ शो दिएको छ। जसमध्ये धेरै शोहरु सोल्डआउट भइसकेका छन्। त्यसैगरि, अन्य मल्टिप्लेक्स हलहरुले शतप्रतिशत शो उपलब्ध गराएका छन्। हलहरुले बिहान पौने ४ देखि राति १२ बजेसम्मका शोहरु राखेका छन्। नेपाली हलमा २३ घण्टासम्म यो फिल्म चल्नेछ।

अग्रिम बुकिङ पनि निकै उत्साहजक छ। शनिबारसम्मका अधिकांस शोहरु सोल्डआउट भइसकेका छन्। बुकिङ खुल्ने बित्तिकै फिल्मको टिकट चाडै बिक्री भएका थिए। त्यसैले केही शोहरुमा फास्ट फिलिङ देखिएको छ। ‘पुष्पा २’ को रनटाइम नेपालमा ३ घण्टा १५ मिनेट छ।

जसकारण एक दर्शकले यो फिल्म हेर्न ४ घण्टा समय छुट्याउनुपर्नेछ। नेपालमा यस फिल्मले पहिलो दिन यस फिल्मले ३ करोड बढीको ओपनिङ गर्ने अनुमान गरिएको छ।

सेयर गर्नुहोस्