ककनी गाउँपालिकाद्वारा दीर्घ सेवा प्रदान गरेका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन रकम सहित बिदाई

नुवाकोट।

ककनी गाउँपालिकाले दीर्घ सेवा गरेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानसहित बिदाई गरेको छ।

२१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा बिहीबार गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी लामो समय महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा सेवा गरेकाहरुलाई नगद र सम्माानसहित बिदाई गरेको हो।

ककनी गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेकी बागमती प्रदेशसभा सदस्य राधिका तामाङले महिला स्वास्थ्य स्वगंसेविकाहरुले समुदायिक स्वास्थ्य क्षेत्रमा स्वयंसेवीरुपमा सेवा प्रदान गरेको बताइन्। उनले महिला स्वास्थ्य स्वयंसेविकाले स्थानीयस्तरको स्वास्थ्य क्षेत्रमा उपलब्ध गराएको सेवामूलक कार्यको प्रशंसा गरिन्।

कार्यक्रममा उपाध्यक्ष मिठ्ठुमाया तामाङले नुवाकोटको १२ स्थानीय तहमा भन्दा ककनी गाउँपालिकाले महिला दिदीबहिनीहरूलाई धेरै सुविधा दिएको बताउँदै सबै जना मिलेर समृद्ध गाउँपालिका बनाउनु पर्ने बताइन्।ककनी गाउँपालिकामा कार्यरत रहेर दीर्घ सेवा गरेका सात जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई बागमती प्रदेश सभा सदस्य सहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षले प्रोत्साहन रकम सहित बिदाई गरेका थिए।

सोही कार्यक्रम अन्तर्गत सञ्चालित स्वास्थ्य सम्बन्धी हाजिरी जवाफ प्रतियोगितामा वडा न ७ पहिलो, वडा नं ४ दोस्रो र वडा नं ५ तेस्रो भएका थिए। विजेताहरुलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो।

होम नारायण खड्काले सञ्चालन गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष सुमन तामाङ र उपाध्यक्ष मिठ्ठुमाया तामाङले महिला स्वास्थ्य स्वयंसेविकाहरुको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए । दीर्घ सेवा तथा बिदाई कार्यक्रममा अन्तर्राष्ट्रिय जीवन प्रशिक्षक जाति रमण भट्टराईले जीवन कला सम्बन्धी प्रशिक्षण समेत दिएका थिए।

सेयर गर्नुहोस्