रामकलेवा विधिसँगै सकियो विवाहपञ्चमी महोत्सव

जनकपुरधाम –

रामकलेवा विधि भएसँगै यस वर्षको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ।

विवाहपछि मिथिलाञ्चलमा मौहक विधि हुन्छ। मौहकमा बेहुलालाई खिर खुवाउने परम्परा रहेको छ। मौहक अर्थात रामकलेवा विधिसमेत जनकपुरधाममा विवाहपञ्चमी महोत्सवअन्तर्गत सम्पन्न भएको हो।

जानकी मन्दिरको प्रांगणमा बनाइएको मडवामा बसेर मौहकका लागि रघुवर चारै भाइले खिर ग्रहण गरे। राति विवाह भएकै मडवामा बसाएर चारै भाइलाई खिर खुवाइयो।

मौहक विधि चलिरहेकै समयमा मिथिलानी नारीहरुले गीतकै माध्यमले राम, भरत, लक्ष्मण, शत्रुघन तथा अयोध्यावासीलाई जिस्काएका थिए।

रघुवर चारै भाइका साथै जन्तीको रुपमा आएका शाधुसन्तलाई समेत आदरका साथ भोजन ग्रहण गराइएको थियो।

रामकलेवामा सहभागी जन्तीहरुलाई कपडा, प्रसादलगायत दिएर बिदाइ गरिएको छ। यससँगै यस वर्षको लागि साताव्यापी महोत्सव विवाहपञ्चमी सम्पन्न भएको छ।

विवाहपञ्चमीको पहिलो दिन जनकपुर नगर दर्शन भएको थियो। त्यस्तै, दोस्रो दिन फूलबारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छठौँ दिन स्वयंवर तथा विवाह र सातौँ दिन रामकलेवा भएको हो।

सेयर गर्नुहोस्