देवताले नसकेको युद्ध देवीले जितिन् तर महिनावारीको बेला देवीकै मन्दिर जान किन दिइँदैन ?

काठमाडौँ ।

 विधायन व्यवस्थापन समिति सभापति तुलसाकुमारी दाहालले महिनावारी फरक ठाउँमा फरक नामकरण भएको बताएकी छन् ।

आइतबार छैटौँ अन्तराष्ट्रिय महिनावारी दिवसको अवसरमा बोल्दै उनले कुनै ठाउँमा छुन नहुने तथा कुनै ठाउँमा पर सरेको जस्ता विभिन्न नामबाट सम्बोधन गर्दाखेरी सबैले फरक तरिकाले सम्बोधन गर्नुपर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘महिनावारी फरक ठाउँमा फरक नामकरणका रुपमा स्थापित छ । कुनै ठाउँमा छुन नहुने तथा कुनै ठाउँमा पर सरेको जस्ता विभिन्न नामबाट सम्बोधन गरिएको छ । हाम्रो देशभित्र विभिन्न जाति, समुदाय जुनजुन ठाउँमा जसरी बसोबास छ त्यसरी नै हामीले अलग र फरक तरिकाले यसको सम्बोधन गर्नुपर्छ ।’

साथै उनले महिनावारी अशुद्धको प्रतीक भनेर छुट्याएकोमा दुःख लागेको बताइन् । उनले ऐतिहासिक कुरा हेर्दा समेत देवीहरूको पूजा हुने, देवताले जित्न नसकेको युद्ध देवीले जितेको भए पनि महिनावारी हुँदा देवीकै मन्दिरमा जान नदिनु दुखःद कुरा भएको बताइन् ।

उनले भनिन्,‘ महिनावारी अशुद्धको प्रतीक भनेर छुट्याइनु दुःखद् कुरा हो । ऐतिहासिक कुरा हेर्दा समेत देवीहरूको पूजा हुने, देवताले जित्न नसकेको युद्ध देवीले जितेको भए पनि महिनावारी हुँदा देवीकै मन्दिरमा जान नदिनु दुखःद विषय हो ।’

 

सेयर गर्नुहोस्