१८ वर्षअघि सुदूरपश्चिमलाई छाउपडी र देउकीको क्षेत्र भनेर चिन्थे धेरैले । सोही समयममा कैलाली उद्योग वाणिज्य संघको नेतृत्वमा थिए गोपाल हमाल । जो अहिले धनगढी उपमहानगरका मेयर पनि छन् । हमालले सुदूरपश्चिम छाउपडी र देउकीको क्षेत्र नभई कला, सस्कृतिको धनी, सुन्दर र क्षमता भएकाहरूको क्षेत्र हो भनेर चिनाउनका लागि एउटा साझा थलोको आवश्यकता महसुस गरे । त्यो आवश्यकताका पूर्तिका लागि महोत्सव लगाउने योजना बनायो उद्योग वाणिज्य संघले ।
‘कला, संस्कृतिको प्रदर्शनी र संरक्षण, स्थानीय खानपानको प्रचार, व्यापारसंगै घरेलु उद्योग र कृषि उपजका उत्पादनको बजारीकरण गर्ने साझा थलो महोत्सवलाई बनाउने योजना हाम्रो थियो,’ हमालले आफ्नो आलेखमा भनेका छन्, ‘महोत्सवमार्फत २२ मंसिरदेखिको १० दिनलाई पर्वको रूपमा मनाउने हाम्रो उद्देश्य नै बन्यो । सोही उद्देश्यअनुसार सुरु भएको थियो सुदूरपश्चिम महोत्सव ।’
महोत्सवमार्फत माला लगाएर सुदूरपश्चिमवासीले विकास माग्ने परिपाटी पनि सुरुवात गरेको हमाल बताउँछन् । ‘महोत्सवको माध्यमबाट सुदूरपश्चिमको समग्र विकासका लागि २०६३ सालमा २१ बुँदे माग राख्दै सांकेतिक माला आन्दोलन सुरु भएको थियो,’ हमालले भने, ‘२१ बुँदे मागपत्र पनि सबै जिल्लाका उद्योग वाणिज्य संघ, नागरिक समाज र अगुवाहरूसँग छलफलपछि निर्धारण गरिएको थियो । पहिलोपटक २१ बुँदे मागसहित २१ किलोको माला पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई लगाएका थियौँ ।’ जति माग त्यति नै किलोको माला सरकार प्रमुख र नेताहरूलाई लगाउने माला आन्दोलनको सुरुवात २२ मंसिर २०६३ देखि सुरु भएको हो ।
सुदूरपश्चिमले २१ माग मागेको १८ वर्ष पुगेको छ । तर, ती २१ मागमध्ये अहिलेसम्म पाँचवटा माग मात्रै पूरा भएका छन् । अप्टिकल फाइबर जडान, सुदूरपश्चिम विश्वविद्यालय स्थापना, राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना, अस्पतालमा आईसीयू कक्षको निर्माण र दुग्ध प्रशोधन केन्द्र स्थापनाको माग मात्रै पूर्ण रूपमा पूरा भएको कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम विष्टले बताए । उनका अनुसार अन्य छवटा माग कार्यान्वयनको चरणमा गएका छन् ।
‘अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण, प्रदेश सभागृह निर्माण, दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण, पर्यटन केन्द्रको स्थापना, गेटा विमानस्थल स्तरोन्नति र चिसापानी–गड्डाचौकी व्यापार व्यवस्थित गर्ने कार्य अहिले कार्यान्वयनको चरणमा छ,’ उनले भने ।