काठमाडौ , मङ्सिर २७
ललितपुरको प्रतिष्ठित प्रभात माध्यमिक विद्यालयका ८ जना विद्यार्थीहरू आगामी मंसिर २९ र ३० गते पोखरामा हार्वर्ड एकेडेमीले आयोजना गर्न लागेको हार्वर्ड ओपन स्क्र्याबल च्याम्पियनसिपमा सहभागी हुनका लागि शुक्रबार पोखरा प्रस्थान गर्दैछन्।
विद्यार्थीहरूलाई विद्यालय प्राङ्गणमा आयोजित एक विशेष समारोहबीच बिदाइ गरिएको छ। यस अवसरमा विद्यालय प्रशासन, शिक्षक तथा अभिभावकहरूले विद्यार्थीहरूको उत्साहप्रति शुभकामना प्रकट गरे।
स्क्र्याबल काठमाडौंका संयोजक बुद्ध गौतमको नेतृत्वमा यी प्रतिभावान विद्यार्थीहरूले ललितपुर जिल्लाको प्रतिनिधित्व गर्दै च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
च्याम्पियनसिपमा सहभागिताले विद्यार्थीहरूको शैक्षिक विकाससँगै उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर पनि प्रदान गर्नेछ। प्रभात माविले विद्यार्थीहरूको प्रतिभा निखार्ने यस महत्वपूर्ण अवसरमा सहभागी हुन पाएकोमा गर्व प्रकट गरेको छ।