२ पुस, पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत पाँच जनाको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पुगेको भोलिपल्ट मंगलबार अदालत उपस्थित गराइयो र अझै ४ दिन हिरासतमै राखेर अनुसन्धान गर्ने अनुमति प्रहरीलाई अदालतले दिएको छ ।
अनुसन्धान प्रतिवेदनलाई पनि सरकारी वकिलको कार्यालयले अध्यनन गरेर अभियोजन तयार पार्नुपर्ने भएकाले प्रहरीले ४ दिनको समय मागेको थियो र न्यायाधीश हिमलाल बेलबासेको इजलासले मागेअनुसारै समय दिएको हो ।
गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशक रविसहित पूर्व डिआइजीसमेत रहेका गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबीको सहयोगी लिला पछाई र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङलाई ४ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतमा उपस्थित गराएको थियो ।
रविलाई आठौं पटक म्याद थप गर्नुअघि मंगलबार लामो बहस भने भएन । सधैं राजनीतिक प्रतिशोध साँधेर हिरासतमा राखिएको भन्दै आफूलाई छाडिदिन आग्रह गर्दै आएका रविले मंगलबार भने छाड्न त भनेनन् तर, थुनामा राखेर के चाहिँ प्रमाण भेटियो भन्ने जवाफ नपाएको बताए ।
अन्तिम पटक म्याद थपिन्छ र अर्को पटक अदालतमा मुद्दा पेश हुन्छ भन्ने रविले बुझेका थिए । यतिका दिन बसिसकेपछि अझै ४ दिन हिरासतमै बस्ने मनस्थितिलाई उनले झल्काएका थिए । प्रहरी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुगिसकेपछि नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल रविलाई भेट्न पुगेका थिए ।
संस्थाले ऋण लिएको तर आफूले नलिएको भन्दै सहकारी ठगीमा नपाएपछि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइएको रविले पौडेलसँग बताएका थिए । तर, त्यसमा पनि अब केही दिनभित्रै अदालतमा मुद्दा लैजानुपर्ने भएकाले अदालतले न्याय दिने बताएको सचिव पौडेलले जानकारी दिए । यसै पनि आफूलाई नछाड्ने बुझेका रविले मंगलबार भने प्रहरीले पाएको प्रमाणबारे मात्र सोधेका थिए ।
सरकारी वकिलको कार्यालयका न्यायाधिवक्ता, जाहेरीकर्ता तथा रवि पक्षका कानुन व्यवसायीले पनि बहस गरेपछि न्यायाधीश बेलबासेले प्रतिवादीलाई पनि बोल्ने समय दिएका थिए । उनले रविलाई पनि सोधे, ‘केही भन्नु छ ?’
बोल्न छोटो समय पाएका रविले भने, ‘मलाई थुनेर के प्रमाण भेटियो भन्ने जान्न सकेको छैन ।’
न्यायाधीश बेलबासेको इजलासमा लामिछानेले भने, ‘म यत्तिका दिन त हिरासतमा बसिसकेँ, अनुसन्धानलाई सघाइसकेँ । यसलाई नथुनेको भए यो प्रमाण नष्ट हुन्थ्यो, यो चाहिँ कागज पाइँदैन थियो, पक्राउ गरेर जोखिमबाट बच्यो भन्ने कुराचाहिँ के छ ? भनेर मैले पटकपटक सोधेँ । जवाफ आजसम्म पाएको छैन ।’
रविले थपे, ‘यसलाई समाएका कारण हामीले यो जोगायौँ, अनुसन्धानमा यस्तो प्रमाण भेट्टायौँ भन्ने एउटा चिज देखाइदिए म सन्तुष्ट हुन्थेँ श्रीमान् ।’
रविको प्रश्नपछि बेलबासे मुस्कुराउँदै न्यायाधीश बेलबासे भने, ‘तपाईंको यो अनुभव पछि काम लाग्छ ।’
प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर सरकारी वकिलको कार्यालयले अबको ४ दिनभित्र अभियोजन पेश गर्नेछ । अहिले प्रहरी प्रतिवेदनको अध्ययन गर्दै अभियोजन लेखनको काम भइरहेको जिल्ला न्यायाधीवक्ता कमला काफ्लेले बताइन् । ८४ दिनसम्म अध्ययन गरेर प्रहरीले प्रतिवेदन बुझाएको छ ।
रवि, छविसहित ५१ जनालाई प्रतिवादी बनाइएको प्रतिवेदनमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमै मुद्दा चलाउन राय दिएको छ । १ अर्ब ५१ करोड ४० लाख १९ हजार अपचलन भएको प्रहरीको भनाइ छ ।
रविसहित ६५ जना प्रतिवादी रहे पनि १४ जनाको नाम खुलेको तर ठेगाना नखुलेको भन्दै ५१ जनालाई मात्र प्रतिवादी बनाएको हो । यीमध्ये ३७ जना फरार छन् भने १४ जना कारागार र हिरासतमा छन् ।
अनुसन्धानको क्रममा सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ५ करोड रूपैयाँ गएको देखिएको छ भने १ करोड रूपैयाँ रवि लामिछानेले लिएर गोर्खा मिडियामा मिलान गरेको प्रतिवेदनमा उल्लेख थियो ।
संसदीय समितिको प्रतिवेदनले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्न रविको पनि संलग्नता देखाएको थियो ।
रवि संलग्न रहेको गोर्खा मिडियामा पोखराको सूर्यदर्शन सहकारीबाट ५ करोड र अन्य सहकारीबाट गरेर ६५ करोड रूपैयाँ गएको देखिएको भन्दै कारबाहीका लागि सिफारिस गरेको थियो ।
रवि गृहमन्त्री हुँदा रोकिएको अनुसन्धान एमाले र कांग्रेसको गठबन्धन सरकार बनेसँगै अगाडि बढेको हो । गृहमन्त्री रमेश लेखकले नै रविलगायतमाथि अनुसन्धान गर्न निर्देशन दिएपछि छविलाल जोशी असोज ६ गते र रवि कात्तिक २ गते पक्राउ परेका हुन् ।
संसदीय समितिले गोर्खा मिडियामार्फत रकम अपचलन भएको भन्दै जीबी, रवि, छविलाल र कुमार रम्तेललाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसमध्ये जीबी फरारै छन् भने रवि र छविमाथि अनुसन्धान भइरहेको छ ।
झण्डै डेढ अर्ब अपचलन भएको सूर्यदर्शन सहकारीका कोषाध्यक्षसमेत रहेका कुमार रम्तेल भने पुर्पक्षका लागि कास्की कारागारमै थुनामा छन् ।